प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद सहज रुपमा नमिल्ने संकेत बढ्दै गएको छ । नेकपा स्थायी कमिटी वैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ–आफ्नो रणनीति बनाउनमा जुटेका छन् ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान कसेका ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित भेटघाट मात्र भएको बताएको छ ।
प्रधानमन्त्री ओलीले आज (शनिबार) साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका स्रोतले जानकारी दिएको छ । मिटिङका लागि भन्दै बोलाइएको र यो मन्त्रिपरिषद् वा अरु के हो प्रष्ट नभएको स्रोतको भनाइ छ ।
सचिवालयका ६ जना खुमलटारमा
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको विवाद थप चर्किएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा नेकपा सचिवालयका ६ जना सदस्यले छुट्टै रणनीतिक भेला आयोजना गरेका छन् ।
प्रचण्डसहित सचिवालयका ६ जना साँझ उनकै निवास खुमलटारमा भेला भएका हुन् । ओलीसँग अब कसरी प्रस्तुत हुने भन्ने विषयमा यो भेलाले रणनीति तय गर्ने सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।
नेकपामा टकराव बढेसँगै ओली पक्षमा उभिँदै आएका गृहमन्त्री रामबहादुर थापा पहिलो पटक आज प्रचण्ड–माधव नेपाल समूहको सचिवालय भेलामा सहभागी भएका हुन् । केही दिनअघि ललितपुरको झम्सिखेलमा भएको यो समूहका स्थायी समिति सदस्यहरूको भेलामा सहभागी भएर थापाले समूह परिवर्तन गरेको खुलाएका थिए ।
थापा पनि प्रचण्ड–नेपाल समूहतिर खुलेसँगै यो समूहमा सचिवालयका ६ जना भएका छन् । अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र थापाले छुट्टै भेला गरेका हुन् । भेलामा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल मात्र सहभागी छैनन् ।