झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको काउन्टर भेला : ओलीविरुद्ध एक जुट भएर लाग्ने
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसमूहले झम्सीखेलमा काउन्टर भेला राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास दुरुपयोग गर्दै बैठककै बीचमा गुटको भेला राखेको भन्दै प्रचण्डले काउन्टर दिएका हुन्
बुधबार साँझ पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने निर्णय गरेको हो ।
झण्डै ३ घण्टा लामो बैठकमा ओलीविरुद्ध मोर्चाबन्दी कसिलो बनाउँदै अघि बढ्ने र उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको हो । ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने तयारी छ ।
“हामीसँग बालुवाटार थिएन । झम्सीखेलको एउटा रेस्टुरेन्टमा भेला भएर पार्टीलाई संस्थागत निर्णयमा हिँडाउन एक मत भयौं,” एक स्थायी कमिटी सदस्यले भने । अर्का स्थायी कमिटी सदस्य मातृका यादवले भने पार्टीलाई बलियो बनाउन भेला भएको बताए ।
“पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ । निर्णयमा हिँडाउनुपर्छ भन्ने भयो, बैठकमा प्रचण्डले आफ्ना कुरा राख्नुभयो । केही सदस्यले पनि बोलेका थिए,” उनले भने ।
बैठक साँझ ५ बजेदेखि राति ९ बजेसम्म चलेको थियो । बैठकमा माधव नेपाल समूहका योगेश भट्टराई र प्रचण्ड पक्षकामन्त्री लेखराज भट्ट सहभागी थिएनन् । भट्टलाई खबर गरिएको थिएन । योगेशले खबर पाएर पनि बेवास्ता गरेको नेपाल पक्षका एक नेताले भने ।
मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए । प्रधानमन्त्री ओलीले पनि बिहान आफू निकट नेताहरुसँग छलफल गरेका थिए ।
संकटमा ओली बादलले पनि गरे बाइबाई
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोली झनझन संकटमा पर्दै गइरहेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले साथ छोडेपछि ओली थप संकटमा पर्दै गएका छन् ।
केही समयदेखि प्रधानमन्त्री ओलीविरुद्ध खुलेर नबोलेका बादल बुधबार भने अर्का अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपालले बोलाएको गुटको भेलामा सहभागी भए । त्यहाँ बादलले ओलीको राजिनामाको बिकल्प नभएको बताएको सहभागी नेताहरु बताउँछन् । अन्तिम घडीमा मात्रै बोल्ने बादलको विशेषता भएको बुधबारको भेलामा खुलेर ओलीको विरोध गरेको बताइएको छ ।
पूर्वमाओवादी खेमाबाट बादलले ओलीलाई साथ दिने चर्चा चल्दै आएको थियो । यसले ओलीलाई केही बलियो बनाएको थियो । तर, अन्तिम घडीमा बादलले ओलीको साथ छोडेका छन् । त्यस्तै सरकारमा सहभागी अन्य मन्त्रीहरुले पनि ओलीको साथ छोडेका छन् । वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणी पोखरेल सहभागी थिए ।
पूर्वएमालेबाट दुई जना र पूर्वमाओवादीबाट चार मन्त्री प्रचण्ड–नेपालको गुटको भेलामा सहभागी भएका थिए । बुधबार विहान मात्रै प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई बालुवाटारमा बोलाएर आफूलाई सहयोग गर्न भनेका थिए । विहान ८ बजे नै ओलीले आफू निकट स्थायी समिति सदस्यहरुको बैठक बोलाएका थिए । उनले कसरी अगाडि बढ्ने भन्नेमा नेताहरुसँग सुझाव मागेका थिए । बुधबार बैठक स्थगित गरेर दुबै पक्ष आफ्नो गुटको बैठकतिर लागे । प्रचण्ड–नेपाल समूहले ललितपुरको झम्सिखेलको एक रेष्टुरेन्टमा बैठक गरे भने ओलीले बालुवाटारमै नेताहरुलाई छलफल गरे । प्रचण्ड समूहको बैठकमा सचिवालय सदस्यसहित ३१ जना सदस्य सहभागी भएका थिए । पर्यटनमन्त्री भट्टराई बैठकमा आफ्नो पनि समर्थन रहेको र निर्णयहरु मान्ने भन्दै अर्को कार्यक्रममा सहभागी हुन गएका थिए ।
को को थिए बैठकमा सहभागी
कुल ४४ सदस्यीय स्थायी सदस्यहरुमध्ये अब ओलीसँग १३ जना जना मात्रै रहेका छन् । स्रोतका अनुसार महासचिव विष्णु पौडेल पनि दोधारमा रहेका छन् । प्रचण्ड समूहमा बहुमत जुटेकोले क्याम्प बदल्ने अनुमान नेताहरुको छ । झम्सिलेख बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल सहभागी थिए ।
गुटको बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अध्यक्षबाट हटाउने निष्कर्ष निकालेको छ । संसदीय दलमा पनि प्रचण्ड–नेपाल समूहको बहुमत पुगको छ । पहिला राजिनामा गर्न सुझाव दिने र नमानेपछि पार्टी तथा संसदीय दलमा बहुमत देखाएर भएपनि जसरी पनि ओलीलाई हटाउन झम्सिखेलमा नेताहरु सहमति गरेका छन् ।