दाङको राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश, मकै बालीमा क्षति

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार देखि सलह किरा देखा परेको छ । मंगलवार दिउँसो मात्र पूर्वबाट एक्कासी राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश गरेको राप्ती गाउँपालिकाका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ हुँदै यति बेला मौरीघाट सम्म आइपुगेको र हावाको गती सँगै ठुलो मात्रमा रहेको सलह पश्चिम तर्फ बढी रहेको कृषि शाखा प्रमुख अधिकारीले बताएका छन् । २/३ वटा समुहमा रहेका सलह धेरै मात्रमा आकाशमा उडिरहेको र केही मात्रमा सलह खेतवारीमा बसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सलह किरा आएपछि यति बेला किसानहरुले थाल बजाउने,धुवा गराउने र हो हल्ला र खेतबारीबाट धपाउने गरेको बताइएको छ ।
यता गढवामा पनि सलह किरा देखापरेको स्थानीयहरुले बताएका छन् ।

उता दाङको घोराहीमा पनि सलह किरा देखा परेको छ । मंगलवार दिउँसो सवा २ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरमा सलह किरा देखापरेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार सानो सानो झुण्डामा २/३ समुहमा जमिन देखि २५/३० मिटर माथि सलह देखापरेको बताइएको छ ।