प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई आकस्मिक बालुवाटार

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक  बोलाएका हुन् ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई आज (बुधबार) ८ बजे बालुवाटार बोलाएको जानकारी गराएका छन् । ‘प्रधानमन्त्रीले छलफलका लागि भनेर हामीलाई बालुवाटार बोलाउनु भएको छ,’ उनले भने । हिजो मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार डाकेका हुन् ।

अढाइ बर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीे सचिवालयका पाँच शीर्ष नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए ।

नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् ।

उनीहरुले दुई तिहाइको सरकार भएर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आपतिजनक भएको बताएका थिए । उनीहरुले भारतले सरकार ढाल्न खोजीरहेको भन्ने भनाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग समेत गरेका थिए ।