परामर्शमा प्रधानमन्त्री ओली : बालुवाटारमा प्रचण्ड निकट मन्त्रीलाई बोलाएनन्

काठमाडौं, पार्टीभित्रैबाट राजीनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकटकाहरुसँग छलफल थालेका छन् । त्यसका लागि उनले बुधबार एकाबिहानै केही मन्त्री र आफु निकटका स्थायी समिति सदस्यहरु बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि प्रधानमन्त्रीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री अ‍ोलीले माधव नेपाल निकट र आफू निकट मन्त्रीलाई मात्र बालुवाटार बैठकमा सहभागी गराएको स्रोतले जानकारी दियो । ओलीले नेपाल निकट घनश्याम भुसाल र योगेश भट्टराईलाई वैठकमा सहभागी गराएका छन् । त्यस्तै गृहमन्त्री राम बहादुर थापा बादल र नेता लेख राज भट्ट बैठकमा सहभागी छन् ।

ओलीले प्रचण्ड निकट मन्त्रीहरु वर्षमान पुन, शक्ति बहादुर बस्नेत र गिरीराजमणी पोखरेललाई वैठकमा बोलाएका छैनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीमा अहम र दम्भ बढेको र पार्टीका नेताहरुलाई नै आरोपित गर्ने काम भएको भन्दै पदवाट राजीनामा दिन माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले मंगलवार नै दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीसंग दुई पटक भेटवार्ता गरेका थिए । पार्टीभित्र चर्को आलोचना बढेसंगै प्रधानमन्त्री ओलीले गम्भीर कदम चाल्ने संकेत गरेका छन् ।