नेकपा स्थायी कमिटी बैठकमा हरेक दिन किन फेरियो कुर्सी ?
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेताको बोलीको जति चर्चा छ कुर्सीको पनि चर्चा उत्तिकै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असार १० गते सुरु भएको बैठक मंगलबारसम्म गरेर चार दिन बसेको छ। पहिलो दिनको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे।
त्यसपछि तोस्रो दिन (असार १२) गते बसेको बैठकमा सीमा विवादको विषयमा स्थायी कमिटीका १८ सदस्यले धारणा राखे। १३ गतेको बैठकमासमेत सीमा विवादकै एजेण्डामा २१ जना स्थायी समिति सदस्यले धारणा राखे।
मंगलबार (असार १६) गतेको बैठकमा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहित १८ स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाए। बोलेका मध्ये केही नेताले भने सरकारको समेत आलोचना गरेका थिए।
कुर्सी किन फेरियो ?
असार १० मा बसेको पहिलो बैठकमा अध्यक्षद्वयलाई सोफामा बस्ने व्यवस्था गरिएको थियो। पहिलो दिन वरिष्ठ नेता र सचिवालय सदस्यलाई सामान्य कुर्सीमा राखिएको थियो। सर्वहाराहरुको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्षलाई सोफा र अन्य नेतालाई कुर्सी भन्दै चर्को आलोचना हुँदा पहिलो दिन सोफामा बसेका अध्यक्ष दोस्रो दिन कुर्सीमा पुगे।
बैठकमा कुर्सीको विरोध भएपछि दोस्रो दिन प्रधानमन्त्री अनुपस्थित भएको बैठकमा अध्यक्ष बस्ने सोफा हटाएर कुर्सी राखियो। तेस्रो दिन अर्थात् १३ गतेको बैठकमासमेत तिनै कुर्सी र त्यही संरचनालाई निरन्तरता दिइयो।
सोझा हटाइए पनि दुवै अध्यक्ष र वरिष्ठ नेता तथा पदाधिकारी मञ्चमै बसे। अन्य स्थायी कमिटी सदस्य भने हलमा डेस्क बेन्चमै बसेका थिए। मंगलबार अर्थात् बैठकको चौथो दिन भने अध्यक्षद्वय प्रचण्ड र ओलीलाई समेत हलमा कुर्सीको व्यवस्थापन गरियो।
सोही व्यवस्थापन अनुसार मंगलबारको बैठकमा अध्यक्षसहित वरिष्ठ नेता हलमै झरेर बसे। चार दिनसम्म बैठकमा कुर्सी र नेताहरुको आसनसमेत व्यवस्थापन हुन नसक्नुले पार्टीभित्रको खटपटलाई सार्वजनिक गरिरहेको छ।
सोमबार मात्र निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि आवेदन परेपछि मंगलबारको बैठकमा यो विषयमाथिसमेत छलफल भएको छ। बैठकमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले एमाले दर्ताका लागि प्रधानमन्त्रीले नै निर्देशन दिएको आरोपसमेत बैठकमा लगाएका छन्। आजको अन्नपुर्ण पोस्ट दैनिकमा समाचार छ ।

