स्थायी कमिटीमा प्रधानमन्त्री ओलीलाई प्रश्न : कसले हटाउन खोज्यो ? प्रमाण चाहियो
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । पार्टीको स्थायी समिति बैठकमा ओलीलाई शीर्ष नेताले नै सो अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका हुन् । मंगलबारको स्थायी समितिको बैठकमा शीर्ष नेताहरू अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले ‘प्रधानमन्त्रीलाई हटाउन खोजेको’ भन्ने अभिव्यक्तिको प्रमाण दिन माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न दूतावास र होटलमा समेत षड्यन्त्र भएको बताएका थिए । प्रधानमन्त्री ओलीले विनाप्रमाण आफूलाई पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएको भन्दै ओलीको आलोचना भइरहेको छ ।
बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाल र मुकुन्द न्यौपानेले प्रधानमन्त्रीबाट गम्भीर अभिव्यक्ति आएको भन्दै त्यसका आधार के हुन् स्पष्ट पार्नुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै सरकार ढाल्न भारत र नेपालका शक्तिहरु लागिपरेको बताएका थिए ।