सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलनमा

काठमाडौं, लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् ।उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले काम गर्न नदिएर भोक भोकै मार्न खोजेको भन्दै मंगलबार बिहान ट्याक्सी चालकहरुले नयाँबानेश्वर-तीनकुने सडकमा प्रदर्शन गरेका छन् । सडक किनारमा ट्याक्सी पार्क गरेर उनीहरु प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका ट्याक्सी व्यवसायीले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

प्रदर्शन स्थलमा चार दर्जन बढि प्रहरी र ट्राफिक प्रहरीहरु खटिएका छन् ।

चैत ११ गतेबाट लकडाउन सुरु भएदेखि ट्याक्सी व्यवसायीले ट्याक्सी चलाउन पाएका छैनन् । ‘यतिका समय घरमै ट्याक्सी थन्क्याएर राखियो अब त सरकारले चल्न देला की भन्ने लागेको थियो, फेरि लकडाउन थपरे हाम्रो पेटमा लात हानिएको छ ।’ प्रदर्शनमा सहभागी एक ट्याक्सी चालकले भने । सरकारले सोमबार साउन ७ गतेसम्म लकडाउन थप गर्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ ।