नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं, सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयास, सरकारको कामको समग्र समीक्षा र पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा सदस्यहरूले धारणा राख्नेछन्।

यस्तै एमसीसी सम्झौता, नागरिकता विधेयक, रुकुम घटना, संघीय संसदका सदस्यहरूको भत्ताका विषयमा पनि बैठकको एजेन्डा छ। १० गतेदेखि जारी बैठकमा पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए। यस्तै दोस्रो र तेस्रो दिन नेपाल–भारत सीमा विवादका विषयमा आआफ्नो धारणा राखेका थिए।

बैठक उद्घाटनाको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सोफाको व्यवस्था गरिएको थियो भने अन्य सचिवालय सदस्यलाई कुर्सीको प्रवन्ध गरिएको थियो । अन्य स्थायी कमिटीका सदस्यहरु तल होचो कुर्सीमा बसेका थिए । त्यही दिन बरिष्ठ नेता माधव नेपालले कुर्सीको विषयमा विरोध जनाए । आफ्नो आसन केहि अगाडी सार्न समेत लगाए ।

यस्तै, शुक्रबारको बैठकमा अध्यक्षहरुको लागि राखिएको सोफा हटाएर अन्य सचिवालय सदस्यकै जस्तो कुर्सी राखियो । प्रधानमन्त्री भने उपस्थित भएनन् । तर, उनी बालुवाटारमै थिए ।

शनिबार प्रधानमन्त्री केहि समय उपस्थित भएर फर्किए । त्यसदिन बैठक सामान्य जसरी चल्यो । मंगलबार भने बैठकको डेकोरशननै परिवर्तन भएको छ । सबै सदस्य एउटै फ्लोरमा राखिएका कुर्सीमा बसेका छन्। मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ । यस्तै, अन्य सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।