ओलीको अभिब्यक्तिप्रति दिल्लीको चासो, कमजोर बन्दै गएको विश्लेषण
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिब्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षडयन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए ।
‘तपाईहरुले पनि सुन्नु भएको हुनुपर्छ, हप्ता–पध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीविको कुरा सुन्नु भएकै होला । कसरी भारतको राज्यसंयत्र अचम्मसँग सक्रिय छ’, उनले भनेका थिए । उनले भारतीय दुताबासको सक्रियता र होटलमा भइरहेको गतिविधीका साथै दिल्लीका संचारमाध्यमका सामाग्रीबाट त्यो प्रष्ट भइरहेको दाबी गरेका थिए ।
ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरुले सोमबारको संस्करणमा विशेष प्राथमिकताका साथ प्रकाशन गरेका थिए । ओलीको अभिब्यक्तिलाई प्रायः सबैजसो मिडियाले सरकार संचालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्कदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रुपमा अथ्र्याएका छन् ।
त्यसैगरी दिल्लीस्थित नेपाली मामिलाका जानकार तथा कूटनीतिज्ञहरुले पनि ओलीको पछिल्लो अभिब्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयासका रुपमा लिएका छन् । यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप पर धकेलेको समेत उनीहरुको भनाइ छ । कान्तिपुर दैनिकबाट

