साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ, सरकारले यथास्थितिकै माेडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार १ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय लिएको थियो । जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशिकाअनुसार सुरुमा स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला गरिएको छ । यिनै सेवा खुल्ने गरी सरकारले लकडाउन साउन ७ सम्मका लागि लम्बाउने निर्णय गरेको हो ।

यस्तै सरकारले लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले ‘एसएमएस’ अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

सरकारकाे याे निर्णयसँगै साउन ७ सम्म निजी सवारीसाधन जोर विजोर प्रणालीबाटै चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

यस्तै, बैठकले प्रदश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्‍ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को जेठ २८ मा बसेको बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खोल्ने निर्णय लिएको थियो । पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गर्ने सरकारको नीति थियो । तर, पहिलो चरण सकिएपछि थप २१ दिन सरकारले लकडाउन पहिलो चरणकै जस्तै लम्बाएको हो ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १३४ जना निको भएका छन् ।