ढुङ्गाले हानेर साथीको हत्या गर्ने पक्राउ

भक्तपुर, हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–४ गहिटी एरियामा बसी ज्याला मजदुरी काम गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका ३० वर्षीय इन्द्रबहादुर तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–४ गहिटीस्थित सार्वजनिक पाटीमा निज तामाङ सोमबार बिहान मृत अवस्थामा फेला परेका थिए । महागरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा निज मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको खुल्न आएपछि तत्काल अभियुक्तको खोजी गर्ने क्रममा हत्यामा संलग्न इन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु एक अर्का साथी भएको प्रहरीले जनाएको छ ।

आपसी विवाद हुँदा इन्द्रबहादुर तामाङले ती व्यक्तिलाई ढुंगा प्रहार गरी मारेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।