साहारा विहिनहरूको साहारा बनेको निलसागर आफै साहारा खोज्दै

दाङ,  साहारा विहिनहरूको साहारा बनेको दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम अहिले आफै साहारा खोजिरहेको छ । आश्रम अहिले लकडाउनका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। लकडाउनले सहयोगी, मनकारीदाता, जन्मदिन जस्ता उत्सवहरु ठप्प भएपछि हिजोआज साँझ बिहान छाक टार्न गाह्रो भएको आश्रमका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

सामान्य प्रस्थितिमा जन्मउत्सब, बिवाह बर्षगाँठ, श्राद्ध जस्ता अवसरमा सहयोगीदाताहरुबाट सहयोग स्वरुप रासन पानी आउँथ्यो । अहिले लकडाउनका कारण सहयोगमा कमी भएको छ । जसले गर्दा कसरी खाना खुवाउने भन्ने पिरलो परेको अध्यक्ष बिष्टले बताए । लकडाउन भए पश्चात राप्ती गाउँपालिकाले उपलब्ध गराएको खाद्यान्न पनि सकिन लागेको उनले बताए ।

सरकारी निकायबाट उचित व्यवस्था नहुँदा र लकडाउनका कारण पनि मानवीय सेवामा समर्पित यस्ता आश्रमहरु दैनिक प्रभाबित हुँदैछन् । आश्रममा बस्नका लागि पनि कोठाहरु पर्याप्त छैनन् । महिला पुरुषलाई छुट्टाछुट्टै बसाल्नुपर्ने भएकाले पनि पर्याप्त नभएको हो । उक्त भवन पनि अर्को व्यवस्था नहुञ्जेल सम्म स्वर्गीय गिराबहादुर कार्की र छोरा इन्द्रबहादुर कार्कीले आफ्नै घर आश्रमका लागि दिएका छन् । अहिले सोही भवनको वरिपरि राप्ती गाउँपालिकाले टिनको बार समेत लगाएको छ । मानसिक बिरामी भएकाले कोही बेला जो पनि भाग्न सक्छन् , बार अति आवश्यक थियो अध्यक्ष बिष्टले भने । गाउँपालिकामा आग्रह गरियो, अनि बार भने लागेको छ ।

भवनका लागि आफूले गाउँपालिका र माथिल्लो सरकारमा आवश्यक पहल गर्ने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताएका छन् । निलसागर आश्रमलाई स्थापना कालदेखि नै आवश्यक सहयोग गरिरहेको बताउँदै अध्यक्ष सुबेदीले आगामी दिनहरुमा सहयोगका लागि सधै तत्पर रहेको बताए । आश्रमलाई गाउँपालिकाको सहयोग मिलेको छ, हाम्रो दायित्व पनि हो, रासन पानी, स्वास्थ्य, सुरक्षा सबैमा सक्दो गरिएको छ अध्यक्ष सुबेदीले भने । भवनका लागि पनि मैले पहल थाल्नेछु, झट्टै हुने कुरा भएन, केही समय लाग्ला । निलसागरका अध्यक्ष प्रकाश बिष्ट आफै पनि स्वास्थ्यकर्मी भएकाले सरकारी निकायलाई स्वास्थ्य चेकअपका लागि डाक्टर झिकाउनुपर्ने बाध्यता भने छैन । बिष्टले उनीहरुको ज्वरो, रुघाखोकी, झाडापखाला, प्रेसर लगायत अन्य सामान्य चेकजाँच आफै गर्छन् । मानसिक रोगका लागि भने कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. मोहन बेल्बासेद्वारा मासिक १ पटक चेकजाँच हुन्छ ।

निलसागरको आग्रहमा डा. बेल्बासेले पारिश्रमिक भने लिँदैनन् । उनले भने बमोजिमको आैषधी दिनुपर्ने भए निलसागर आफैले खर्च गर्छ । त्यहाँ हेरचाह गर्ने र खाना पकाउने ३ जना छन् । उनीहरु सबैले मानवीय सेवाका लागि पारिश्रमिक लिँदैनन् । देशका विभिन्न जिल्लामा असाहय आमा-बुवाको सेवा गर्ने उद्देश्यले सञ्चालित निलसागरले बाँके, बर्दिया, दाङ र पाल्पामा आश्रम सञ्चालन गरी सेवा गरिरहेको छ । सरकारको साथ सहयोग पाए देखी देशका अन्य विभिन्न जिल्लाहरुमा पनि सेवा सुचारु गर्ने निलसागरले जनाएको छ ।

दाङको देउखुरीमा गत पौष देखि निलसागरले सेवा दिन थालेपछि दाङका बजारहरुमा अहिले बेसाहारा असाहायहरु देखिन छाडेका छन् । निलसागरले देउखुरीको राप्ती गाउँपालिका-८ पिपरीमा आश्रम सञ्चालनमा ल्याएपछि दाङका प्रमुख बजारहरुमा मानसिक सन्तुलन गुमाएर भौतारिने गरेका असाहायहरु देखिन छाडेका हुन् ।  आश्रममा अहिले महिला पुरुष गरी ३० जना मानसिक रोगी भएका असाहाय, अशक्त बृद्धबृद्ध रहेका छन् । जसमध्ये ७ महिला र २३ पुरुष रहेका छन् ।