सुदूरपश्चिममा थप १९५ जनामा कोरोना, संक्रमितको संख्या २३०९

धनगढी, सुदूरपश्चिममा १ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतबार १ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका २÷२ जनामा कोरोना पुष्टि भएको हो । शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाजुराका २९ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराकै ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डडेल्धुराका १ पुरुष र दार्चुलाका १ पुरुष गरी २ जनामा संक्रमण देखिएको हो । यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा डोटीका ६९ र कैलालीका २९ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले कैलालीमा आज सबैभन्दा बढी डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए । जसमा ६ महिला र ३९ पुरुष रहेका छन् ।

आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिंह गाउँपालिका २ जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना रहेका छन् ।

धनगढी उपमहानगरपालिकाका ५ महिला र ५ पुरुष गरी १० जना, कैलारी गाउँपालिकाका ४ महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका २ महिला र ५ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ हजार ३ सय ९ पुगेको छ । पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने २ सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।