नक्सा सच्याए वापत मलाई हटाउन खोजिंदैछ : प्रधानमन्त्री
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित जननेता मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा यस्तो बताएका हुन् ।
भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन्छु भन्ने नसोच्न चेतावनी दिएका छन् । नयाँदिल्लीका मिडिया, भारतीय दूतावासमा भैरहेको जमघटलाई नियाइरहेको समेत उनले बताए ।
चीनसँग पारवहनको सम्झौता गर्दा यसअघि आफ्नो नेतृत्वको सरकार ढलेको बताउँदै ओलीले भने, ‘अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने गलत नजिर स्थापित हुन्छ । म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ । त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’
नेपालले नक्सा जारी परेपछि भारतसँग सम्बन्ध बिग्रिएको र वार्ताका लागि वातवरण नभएका वेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।

