देउखुरीको प्रभात सहकारीको रकम हिनामिना गर्ने चौधरीलाई तीन वर्ष एक महिना कैद
भालुवाङ, देउखुरीकाे एक सहकारी संस्थाको रकम हिनामिना गर्ने व्यवस्थापकलाई दाङ देउखुरी जिल्ला अदालतले ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ बराबरको विगो र सोही रकम बमोजिमको जरिवाना सहित ३ वर्ष १ महिना कैद सजायको फैसला सुनाएको छ ।
असार १० गते बुधबार जिल्ला न्यायधिश हिमलाल बेल्वासेको एकल इजलासले सहकारीको रकम हिनामिना गर्ने व्यवस्थापक रमिता चाैधरीलाई सो सजाय ताेकेकाे हो । चाैधरी विरुद्ध दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापकको रुपमा कार्यरत रहँदा रकम हिनामिना गरेको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी परेको थियो । त्यही जाहेरीका आधारमा उनलाई इलाका प्रहरी कार्यालय भालुवाङले २०७५ मंसिर ९ गते राती ९ बजे भालुवाङ बजारमा गाडीबाटै पक्राउ गरेको थियो ।
पक्राउ परेकी व्यवस्थापक चाैधरीलाई २०७५ मंसिर १४ गते पुर्पक्षमा राखेर अनुसन्धान गर्न तत्कालीन न्यायाधीश श्यामलाल घिमिरेको एकल इजलासले तुलसीपुर कारागार चलान गरेका थिए । व्यवस्थापक चाैधरीले सहकारीको हिसाबबाट सो रकम गायब बनाएकी थिइन् । व्यवस्थापक रमिताका श्रीमान् तथा संस्थाका पूर्व सचिव बसन्तकुमार चाैधरी भने अहिले पनि फरार रहेका छन् । उनलाई प्रहरीले अहिले सम्म पनि प्रकाउ गर्न सकेकाे छैन ।