अवैध रकमसहित तीन जना पक्राउ
जनकपुरधाम, १८लाख अवैध रकमसहित प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
शनिवार प्रदेश प्रहरीबाट खटेको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार रहेका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय रोहितकुमार साहलाई ९ लाख रुपैयाँ, सो मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार रुपैयाँ र प्र २–०३–००३ प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय सञ्जयकुमार साहलाई ३ लाख ५० हजार रुपैयाँ गरी कूल १८ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता मिश्रले बताए ।
पक्राउ परेका ३ जनालाई १८ लाख रुपैयाँ र सवारी साधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालेको उनले जानकारी दिए ।