नेपालमा पनि भित्रियो ‘सलह’ किरा

काठमाडौं, नेपालमा सलह किरा भित्रिने खतरा टरेको अनुमान भइरहेका बेला बारा र सर्लाहीमा सलह किरा देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले बताएका छन् । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने । सलह किराको समूहले नेपालमा क्षति पुर्‍याए, नपुर्‍याएको भने स्पष्ट भइसकेको छैन ।

भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको जनाइएको । सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्‍याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज (शनिबार) आकस्मिक बैठक बोलाएको छ ।

बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको जानकारी आएको बताइएको छ । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ ।