कर्णालीमा २१४ जना कोरोना संक्रमणमुक्त, ७ जना थप

सुर्खेत, कर्णाली प्रदेशमा आज एकै दिन २१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, डुङ्गेश्वर आइसोलेसन सेन्टरबाट ६३ जना र नारायण क्याम्पसको आइसोलेसनबाट ९ कोरोना संक्रमणमुक्त भएका छन्।

त्यस्तै सुर्खेतको सालकोट आइसोलेसन सेन्टरबाट ८ जना र रुकुम पश्चिमबाट एक जना गरी कुल २१४ जनाले कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ सय ३४ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

त्यस्तै आजै सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ६ मा दुई जना, वडा नं ८ मा एक जना र वडा नं. ९ मा चार जना गरी कुल सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ४४० पुगेको छ।