सीमा विवादबारे भारत वार्तामा बस्‍नै चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि भारतले चासो नदेखाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा मन्त्री ज्ञवालीले सीमा विवादबारे छलफलका लागि पटकपटक आग्रह गर्दा पनि भारतीय पक्ष वार्तामा बस्न नमानेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले भने, “नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव गर्‍यो । पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रुअरीमा । तर, भारतले कुनै जवाफ नै पठाएन ।”

उनले सीमा समस्या वार्तामार्फत् समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको गुनासो गरे । त्यसैगरी उनले चीनसँग नेपालको कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या आएमा संवादमार्फत् समाधान गरिने बताएका छन् ।

यस विषयमा बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयको अनधिकृत तथ्यांकलाई आधार बनाएर समाचार बनाएकोमा आपत्ति जनाउँदै नेपाल-चीनबीचका सीमा समस्या सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ । त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेको उल्लेख गरेको थियो ।

भारतले भने नेपालले सीमा समस्या समाधानका लागि तीनपटक प्रस्ताव गर्दा पनि जवाफ त दिएन नै उल्टै कोरोना महामारीकाबीच ८ मेमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेको थियो । कोरोना महामारीकैबीच चीनसँग वार्ता गरेको भारतले नेपालसँग भने कुनै चासो देखाएको छैन ।