प्रदेश राजधानी नपाए कर्णालीमा गाभिने नेपालगन्जको घोषणा

काठमाडौं, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगन्ज नभए कर्णालीमा गाभिने निति अबलम्बन गरेकाे छ ।  प्रदेश राजधानी नपाए बाँकेलाई कर्णाली प्रदेशमा समाहित गराउने निर्णय आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै समावेश गरिएको हाेे ।

बुधबार सार्वजनिक गरिएको कार्यक्रममा लेखिएको छ– ‘नेपालगन्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास गरिने छ, अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गरिनेछ ।’

उपमहानरपालिकाका मेयर डा. धवल शमशेर राणाले बाँके, बर्दियाका नागरिकलाई बुटवल पायक नपरेको कारणले कर्णालीमा समाहित हुने घोषणा गरेको जानकारी दिए।

नेपाल समयसँग कुरा गर्दै राणाले भने, “कर्णालीका विभिन्न जिल्लासँग नेपालगन्जको समाजिक, साँस्कृतिक तथा व्यापारिक सम्बन्ध भएकोले पनि कर्णालीमा समाहित हुने यहाँका नागरिकको चाहाना हो।”

कर्णाली प्रदेश पनि यसमा सकारात्मक भएको राणाको भनाइ छ। राणाले भने, “कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल भइसकेको छ, उहाँहरु बाँके, बर्दियालाई स्वागत गर्न तयार हुनुहुन्छ।”

प्रदेश–५ को अस्थायी राजधानी बुटवल तोकिएको छ। प्रदेश सरकार गठन भएको साढे दुई वर्ष बितिसक्दा पनि नाम र राजधानी तोकिएको छैन। प्रदेश–५ मा दाङ र बुटवलबीच राजधानीको विषयमा चर्को विवाद छ।