नेकपा स्थायी कमिटी बैठक : सीमा विवादमा केन्द्रित, भोलि पुनः बस्ने

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सिमा विवाद केन्द्रित भएकाे बताइएकाे छ ।  आजको बैठक सिमा बिषयमा ब्रिफिङ गरेर सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको बैठकमा सीमा विवादबारे स्थायी कमिटीका १८ जना सदस्यहरूले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भारतद्वारा अतिक्रमित नेपालको भूमि फिर्ता ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै नेताहरुले कूटनीतिक सम्वादमा जोड दिएका छन् ।

बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने सीमा विवादबारे छलफलका लागि भारतले चासो नदेखाएको बताएका थिए । गत नोभेम्वर, डिसेम्बर र जनवरीमा तीन पटकसम्म पत्र पठाउँदा भारतीय पक्षले वार्तामा बस्न आनाकानी गरेको स्थायी समिति सदस्यसमेत रहेका मन्त्री ज्ञवालीको भनाई थियो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विशेष कारण जनाउँदै अनुपस्थित भएका थिए । उनको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक चलाएका थिए । अब अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।