थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११,७५५
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ र सोमबार ५३५ कोरोना संक्रमित थपिएका थिए ।
देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४८ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ४० पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म दुई लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९० हजार ३४९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ७१ हजार १२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३० कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।