लागुऔषध कारोबार आरोपमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौं, नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन्। ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत शाहीलाई ब्युरोले बिहीबार नियन्त्रणमा लिएको हो।

ब्यूरोका प्रवक्ता एसपी प्रविन धितालले प्रहरी निरीक्षक शाही पक्राउ परेको पुष्टि गरे। ‘बुधबार पेप्सीकाेलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा शाही तानिएका हुन्’, धितालले भने, ‘लागूऔषध कारोबारमा उनको संलग्नताबारे अनुसन्धान भैरहेको छ।’

प्रहरीले बुधबार चलाएको अपरेसनमा पाँच जनासहित ६ सय बोतलभन्दा बढी औषधिजन्य लागूऔषध ‘कोरेक्स’ बरामद गरेको थियो। धितालले पक्राउ परेका सबैको कारोबारमा संलग्नता भएनभएको बारे पनि अनुसन्धान भैरहेको बताए। सम्भवत बिहीबार नै मुद्दा चलाइने धितालले जानकारी दिए।