डीडीसीले घ्यु र धुलो दूधको मूल्य घटायो
बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएको भन्दै सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डीडीसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ ।
यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०, नौनीमा रु ८० र धुलो दूधमा रु १० छुट दिइएको छ ।
घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए। उहाँका अनुसार थोक मूल्य प्रतिलिटर रु ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइएको छ । यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म चार, तीन हजारदेखि पाँच हजारसम्म चार र पाँच हजार लिटरदेखि माथि घ्यु किन्दा पाँच प्रतिशतसम्म छुट दिइएको छ ।
रु बीस छुट डिडिसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र पाइने जनाइएको छ । एक हजार लिटरभन्दा बढी नौनी खरीद गर्नेलाई रु ८० र धुलो दुध खरीद गर्नेलाई रु १० छुट दिइएको डिडिसीका अर्थविज्ञ अज्जन अधिकारीले जानकारी दिए। उनका अनुसार यसअघि नौनी प्रतिलिटर रु ७८० र धुलो दूध प्रतिलिटर रु छ सय थियो ।
डिडिसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरीद गर्दा मात्र छुट हुनेछ । यसैगरी नेपाली सेनालाई बिक्री गरिने होल मिल्क (घ्युसहितको दूध) एक हजारभन्दा बढी खरीदमा रु १० छुट दिइएको छ । यसअघि थोकमूल्य रु ७५० थियो ।
असार ३ गतेअघि बट्टाको घ्यु प्रतिलिटर रु ९२० तथा प्याकेटमा राखिएको घ्यु प्रतिलिटर रु नौ सयमा बिक्री गरिएको थियो ।