यसकारण दलहरुलाई राष्ट्रपति भण्डारीले दिइन् धन्यवाद
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरूलाई धन्यवाद दिएकी छिन् । शीतलनिवासमा बुधबार राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई बोलाएर भण्डारीले राष्ट्रिय सवालमा एकता देखाएको भन्दै धन्यवाद दिएकी हुन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको समेत उच्च प्रशंसा गरेको राष्ट्रपतिका कार्यालयले जनाएकाे छ । ‘राष्ट्रपतिज्यूले कुनै राजनीतिक उद्देश्यका लागि सबै उच्च पदस्त व्यक्ति ज्यूलाई बोलाउनु भएको होइन,’ राष्ट्रपतिका स्वाकीय सचिव डा भेषराज अधिकारीले भने, ‘संविधान संशोधनमा सबै दलले देखाएको राष्ट्रिय एकतालाई खुसी व्यक्त गर्दै धन्यवाद दिन बोलाउनु भएको हो।’
राष्ट्रपतिको निमन्त्रणामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द पुगेका थिए। यस्तै नेकपाबाट सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा लगायत नेता पुगेका थिए।
कांग्रेसबाट रामचन्द्र पौडेल, शेखर कोइराला, संशांक कोइराला पनि भेटमा पुगेका थिए। जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो पुगेका थिए भने राष्ट्रिय जनमार्चाका अध्यक्ष चित्रबहादुर केसीसमेत सहभागी थिए।
सबैले डेढ घण्टासम्म बसेर चियाबिस्कुट खाएर फर्किएका थिए। सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्र समेटर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न जेठ ३१ गते सर्वसम्मत रुपमा संविधान संशोधन भएको थियो।
राष्ट्रियसभाबाट पारित भएकै दिन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संविधान संशोधनको सम्पूर्ण काम पूरा भएर कार्यान्वयनमा आइसकेको छ। राष्ट्रपतिले देश कोरोना महामारीको जोखिममा छ, सबैले सहयोग गर्नुपर्ने पनि बताएकी थिइन् ।