कोरोनाको महामारीकै बीच शीर्ष नेतालाई राष्ट्रपतिको रात्री भोज !
काठमाडौं, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् । नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । नेताहरूलाई साँझ पाँच बजे आइपुग्ने गरी निम्ता गरिएको छ ।
रात्री भोजका लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दसहित महन्थ ठाकुर लगायतका नेतालाई निम्तो गरिएको स्रोतले बताएको छ ।
राष्ट्रपतिले आयोजना गर्ने भोजमा सत्तारुढ नेकपाका नेताहरूमात्र सहभागि भएपछि आलोचना हुनसक्ने भएकाले राष्ट्रपतिले अन्य दलका नेताहरुलाई पनि बोलाएको सत्तारूढ नेकपाका एक नेताले बताए ।
‘राष्ट्रपति देशको अभिभावक बन्नुपर्ने तर एक पार्टीको मात्र बन्नुभयो भन्ने कुरा उठिरहेको छ । त्यही भएर राष्ट्रपतिले सबैलाई बोलाएको हुनसक्छ,’ उनले भने । तर कोरोना भाइरस महामारीका बेला जनता त्रसित भइरहेको अवस्थामा रात्रिभोजसहितको मिटिङ आवश्यक नभएको उनले बताए ।

