कर्णाली प्रदेशमा थप चार स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आज थप चार जना स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानका एक र दैलेखका तीन जना गरी चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर निराजन पन्तका अनुसार दुल्लु नगरपालिकामा कार्यरत दुई जना र डुङ्गेश्वर गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल सल्यानका कार्यरत एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए । त्यस्तै आज बिहानमात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका २८ जनामध्ये सुर्खेतका १३ जना, दैलेखका तीन, जाजरकोट, कालिकोट, दाङ, रुपन्देही, सप्तरी, ताप्लेजुङ, उदयपुर र धनुषाका एक एक जना छन्।

उनीहरुमध्ये स्वास्थ्यकर्मीसहित केही सुरक्षाकर्मी र बैंक तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु रहेको मन्त्रालयको भनाइ छ। यद्यपि संक्रमित सबैको पेशाबारे मन्त्रालयले स्पष्ट रुपमा खुलाएको छैन।

विभिन्न पेशा व्यवसायमा कार्यरत व्यक्तिहरुमा कोरोना संक्रमण देखिएसँगै कर्णाली प्रदेशमा समुदायमै कोरोना फैलिएको पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जनाए । हालसम्म कर्णालीमा कोरोना कोरोना संक्रमितको संख्या एक हजार ३३५ जना पुगेको छ।