दाङमा पिसिआर रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनबाट बाहिर निस्किएर प्रर्दशन

 दाङ, दाङमा पिसीआर परिक्षणमा निकै ढिलासुस्ती देखिएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्दै आएकाे स्वाब परिक्षणमा निकै ढिलासुस्ती देखिएपछि क्वारेन्टाइनमा बसेकाहरू बाहिर निस्किएर बिराेध प्रदर्शन समेत गरेका छन् ।

पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो गरेको विरोधमा सोमबार दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टाइनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ गरेपछि फर्किएको बताए । उनीहरुले छिटो पीसीआर रिपोर्ट दिन र छिटो आफूहरुलाई घर फर्काउन माग गर्दै नाराबाजी गरेका थिए ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिपोर्ट ढिला हुँदा क्वारेन्टिनमा बस्नेहरु आत्तिइसकेको बताए । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुँदै आएको छ । तर चाप अत्यधिक रहेकाले छिटो परीक्षण हुन सकिरहेको छैन । स्वाबको नमूना परीक्षणको चाप बढेसँगै प्रतिष्ठानले हालै दोस्रो पीसीआर परीक्षण मेसिन जडान गरेको छ ।