थप ५३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएका हुन् ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले थप ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

गौतमले संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी दिए । 

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ र सोमबार ५३५ कोरोना संक्रमित थपिएका थिए ।

देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार २२४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ८५ हजार ८१३ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु रहेका छन् ।