अस्पतालका आइसोलेसन खाली, संक्रमितको बास घर र स्कुलमा

धनगढी , गत आइतबार कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका १३ का दुई जना स्थानीय विद्यालयको क्वारेन्टिनमै छन्।

बुधबार कोरोना पुष्टि भएका गौरीगंगा नगरपालिका १ का १८ संक्रमितमध्ये १७ जना घरमै छन्। एक जना भने नगरपालिकाले बनाएको क्वारेन्टिनमा रहेको बताइएको छ। यी त उदाहरण मात्र हुन्, सुदूरपश्चिमका कोरोना संक्रमित कोही घरमा त कोही विद्यालयमै रात बिताइरहेका छन्। अस्पतालका आइसोलेसन वार्ड भने खाली छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका अनुसार सुदूरपश्चिममा तीन सय ६४ आइसोलेसन शय्या छन्। तर, त्यहाँ एक सय ४२ जनालाई मात्रै राखिएको छ, जसमा एक सय १२ संक्रमित छन् भने ३० बिरामी शंकास्पद छन्। धनगढी उपमहानगरपालिका १३ स्थित जनता माविमा बनाइएको क्वारेन्टिनमा रहेका एक व्यक्तिले संक्रमितलाई आइसोलेसनमा नराखिँदा त्रसित भएको बताए।

“संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो। तर, यहाँ बेवास्ता गरिएको छ,” उनले भने। निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी लक्षण देखिएका कोरोना संक्रमितलाई मात्रै आइसोलेसनमा राख्ने गरिएकाले शय्या खाली रहेको बताउँछन्। “सबै संक्रमितलाई आइसोलेसनमा राख्न सम्भव छैन,” उनले भने, “उनीहरुको निगरानी भने गरिरहेका छौं। लक्षण देखिनेबित्तिकै आइसोलेसनमा भर्ना गर्छौं।”

कोरोना संक्रमण पुष्टि भएपछि घरमा अलग्गै बसिरहेका गौरीगंगा नगरपालिका १ का संक्रमित पुरुषले आफूलाई भेट्न स्वास्थ्यकर्मी नआएको बताए। “पाँच दिनदेखि अलग्गै बसिरहेका छौं, कति दिन यसरी बस्नुपर्ने हो, केही थाहा छैन,” उनले भने। निर्देशनालयका प्रमुख डा. अवस्थी संक्रमण फैलन नदिन सतर्कता अपनाएको दाबी गर्छन्। “संक्रमण फैलन नदिन हामीले सतर्कता अपनाएकाले क्वारेन्टिनमा रहेका संक्रमितले पनि डराउनुपर्ने अवस्था छैन,” उनले भने।

उनले सुदूरपश्चिमका ८८ वटै पालिकालाई ५०/१०० शय्याको आइसोलेसन बनाउन परिपत्र गरेको बताएका छन्। “प्रदेश सरकारले यसका लागि बजेट पनि छुट्याइसकेको छ,” उनले भने।

सुदूरपश्चिमका अस्पतालमा कहाँ कति आइसोलेसन शय्या?

निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालमा ७४, टीकापुर अस्पतालमा ५०, महाकाली अस्पतालमा ४६, डडेलधुरा अस्पतालमा ४० र जिल्ला अस्पताल, बझाङमा ३५ वटा आइसोलेसन शय्या छन्।

यस्तै, मालाखेती अस्पतालमा २०, जिल्ला अस्पताल अछाममा १७, जिल्ला अस्पताल दार्चुला र बयलपाटा अस्पतालमा १३/१३, जिल्ला अस्पताल, बाजुरामा १२, जिल्ला अस्पताल, डोटीमा १०, जिल्ला अस्पताल, बैतडी र जोगबुढा अस्पतालमा ८/८, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा ५, भजनी र गोकुलेश्वर अस्पतालमा ४/४, सुदूरपश्चिम प्रहरी अस्पतालमा ३ र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना क्षमताको आइसोलेसन शय्या छ।

सुदूरपश्चिममा कोरोना संक्रमितका सक्रिय बिरामीको संख्या ९ सय ७५ छ।