दाङमा एक वडाध्यक्षसहित १३ जनामा कोरोना, जिल्लामा संक्रमितको संख्या २८५
दाङ, दाङमा आज (साेमबार ) एक वडाध्यक्ष सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरु सबै घोराही उपमहानगरका हुन् । घोराही उपमहानगरपालिका एकजना वडा अध्यक्ष समेत काेराेना संक्रमित भएका छन् ।
यस अघि दाङकै एक वडाध्यक्षमा पनि काेराेना संक्रमण देखिएकाे थियाे । याे संगै जिल्लामा दुई जना वडाध्यक्षमा काेराेना संक्रमण देखिएकाे छ । आज देखिएका संक्रमित मध्ये एक जना जनप्रतिनिधी र अन्य १२ जना भारतबाट आएका नागरिकहरु हुन ।
जेठ २४ गते स्वाब संकलन गरिएको र आज १६ दिन पछि रिपोर्ट आउँदा अध्यक्षलाई कोरोनाको संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा घोराही २ का १७, २२ र ३८ बर्षका पुरुष, वडा नम्बर ३ का २३ र ३० बर्षका पुरुष, वडा नम्बर ६ का १६, १९, २३, २३, २५, ३२ र ३७ बर्षका एक महिला सहित ५ पुरुष र वडा नम्बर ५ का ३१ बर्षका एक पुरुषमा कोरोना देखिएको हो ।
घोराही उपमहानगरको मावि वुका र आधारभूत बिद्यालय भैसकुरबाट संकलन भएको २ सय ६७ जना मध्य ३७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै घोराहीमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । संक्रमित मध्य ४४ जना कोरोना मुक्त भएर घर फर्किएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । यसैबीच आज थप भएका १३ जना सँगै दाङमा संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।