परिक्षणका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह

काठमाडाैं, अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी सभामा सम्बाेधन गर्दै ट्रम्पले साे आग्रह गरेका हुन् ।

अमेरिकाकाे ओक्लोहोमामा आयाेजना गरिएकाे चुनावी सभामा झण्डै दुई घण्टा लामो सम्बोधन गरेका ट्रम्पले परीक्षण धेरै हुँदा अमेरिकामा संक्रमणका केसहरु धेरै थाहा भएकाे दावी गरे । सभामा मास्क नै नलगाएर उपस्थित भएका ट्रम्पकाे याे भनाइप्रति धेरैले आपत्ती जनाएका छन् ।

ट्रम्पको सभामा सहभागी हुन आएकाहरु भने ट्रम्पलाई जोगाउनका लागि आफ्नो स्वास्थ्यको पर्वाह नै नगरेको देखिएको थियो । स्थानीय अधिकारीका अनुसार सभा सुरु हुनु भन्दा केही पूर्व मात्रै आयोजक टिमका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर अधिकांश सहभागीहरु ट्रम्प जस्तै मास्क नलगाइ सहभागी भएका थिए ।

शनिबार बेलुका (नेपाली समय अनुसार आइतबार बिहान) ओक्लोहोमा सभा सुरु हुनु अघि ¥याली निकालिएकाे थियाे । र्याली र चुनावी सभामा भने ट्रम्पकाे टिमले दावि गरे वमाेजिम सहभागिता नभएकाे बताइएकाे छ।

सभा टल्सा स्थित ब्यांक अफ ओक्लोहोमा सेन्टरमा भएकाे थियाे । त्यहाँ १९ हजार व्यक्ति अट्ने क्षमता रहेकाे भए पनि ट्रम्पकाे टिमले भने साे सभामा सहभागी हुन १० लाख भन्दा बढीले टिकटका लागि आवेदन दिएको दाबी गरेका थिए । अमेरिकी सञ्चारमाध्यमले सभा भएको ब्यांक अफ ओक्लोहोमा सेन्टरका अधिकांश सिटहरु खाली नै देखिएकाे बताएका छन । सहभागी अधिक हुन सक्ने आंकलन गरी ट्रम्पले सेन्टर बाहिर खुला स्थानमा सम्बोधन गर्ने व्यवस्था गरिएको थियो । तर सहभागिता कम भएपछि सो योजना कार्यान्वयनमा आउन सकेन ।

कोरोना भाइरसको महामारी कायमै रहेका बेला सार्वजनिक स्थानमा हजारौँ मानिसको सहभागितामा चुनावी सभा गर्न लागिएको प्रति विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त भएको थियो । यस्ता सभाबाट संक्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य विज्ञ र स्थानीय अधिकारीले चासो व्यक्त गरेका थिए । सभा विरुद्ध अदालतमा मुद्दा पनि परेको थियो ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुने होडमा छन् । उनलाई डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चुनौति दिने छन् ।