दाङमा आज थप ११ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २ सय ७२
दाङ, दाङमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा ४ सय ६५ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक गरी ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तुलसीपुरको रक्षा चौर क्वारेन्टाईनमा बसेका ३४ जना मध्ये १५ जनाको परिक्षणमा ५ जनामा पोजेटिभ देखिएको हो । तुलसीपुर १३, १६ र १८ नम्बर वडाका १९, १६, १९, २३ र ३९ बर्षका पुरुषमा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै गढवाको कालाकाटे क्वारेन्टाईनमा बसेका ७९ जना मध्ये २० जनाको जाँच गर्दा वडा नम्बर १, २ र ५ का १४, २४ र १५ बर्षका तीन पुरुषमा पनि कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी घोराही उपमहानगरको २ सय ६७ जना मध्ये १ सय ३१ जनाको स्वाब परिक्षण भएकोमा वडा नम्बर १ का ३२ र वडा नम्बर ३ का ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
साथै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका २ सय २४ जना स्वास्थ्यकर्मी एवं कर्मचारीमा गरिएको परिक्षणमा रोल्पा घर भएका २५ बर्षीय पुरुष एक जना कर्मचारीमा कोरोना देखिएको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलासप्रसाद देवले जानकारी दिए ।
त्यस्तै बंगलाचुलीको ९५ वटा स्वाबमा ७० वटाको जाँच गर्दा सबै नेगेटिभ नतिजा आएको छ । यसैगरी प्रतिष्ठानमा अब ३ हजार २ सय ४४ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ७२ पुगेको छ ।