स्वाब संकलन गरेको एक महिनासम्म पनि आएन रिपोर्ट
दाङ, दाङमा कोरोना परिक्षण गर्न स्वाब संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाई भएको छ । केही दिन पहिलो दाङको घोराहीमा रिपोर्ट आउन ढिलो गरेको भन्दै क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेका थिए । अहिले पनि रिपोर्ट आउन निकै ढिला हुने गरेको छ । जसले गर्दा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाइ हुने गरेको स्थानीय पालिकाहरुको भनाई छ ।
‘स्वाब संकलन गरेको ३२ दिन भयो, तर रिपोर्ट अझै आएको छैन, जसले गर्दा क्वारेन्टाइन ब्यवस्थापनमा समस्या भएको छ’, राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण राउतले भने । अहिले पनि दाङमा ३ हजार ४ सय ५७ जनाको रिपोर्ट आउन बाँकी छ । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका १३ सय ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल प्रसन कमल चन्दले जानकारी दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वावको परिक्षण भइरहेको भएपनि एउटा मात्र परिक्षण मेसिन हुँदा रिपोर्ट आउन ढिला भएको अस्पतालले बताउने गरेको छ । अहिले त प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा नै कोरोना देखिएपछि शनिबार र आइतबार दुई दिनका लागि अस्पताललाई सील गरिएको छ । रिपोर्ट आउन ढिला भइरहेको समयमा दाङमा परिक्षण किटको अभाव हुँदा बिहीबार देखि परिक्षण नै रोकिएको थियो । शुक्रबार मात्र किट आएपछि गए राती देखि पुन परिक्षण सुचारु गरिएको प्रतिष्ठानले जनाएको छ ।
जिल्लामा २ सय ६१ जना कोरोना संक्रमित, ८७ जना डिस्चार्ज
त्यस्तै परिक्षणको दायरा बढाउन पछिल्लो समय एउटा मेसिन थप गरिएको छ । मेसिन थप गरिएसँग अब दैनिक एक हजार बढी स्वाब परिक्षण गर्न सकिने प्रतिष्ठानका काममुकायम कैलाशप्रसाद देवले जानकारी दिएका छन् । जिल्लामा २ सय ६१ जना कोरोना संक्रमित, ८७ जना डिस्चार्ज दाङमा ८७ जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।
निको हुनेमा दाङको बेलझुण्डीमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्पतालबाट मात्रै ६३ रहेका छन् । अन्य १४ जना भने बंगलाचुली गाउँपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टरबाट निको भएर घर फर्किएका हुन ।
शनिबार मात्र बेलझुण्डी अस्पतालबाट ५ जना निको भएर घर फर्किएका थिए । एक जना बबई गाउँपालिकाका र अन्य ४ जना घोराही उपमहानगरपालिकाका उपचारपछि निको भएर घर फर्किएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । अब बेलझुण्डी अस्पतालमा ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने बंगलाचुली गाउँपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टर भने खाली रहेको छ ।बेलझुण्डीमा संक्रमितलाई राख्ने ठाउँ नभएपछि बंगलाचुलीले क्वारेन्टाइनलाई आइसोलेसन सेन्टर बनाएको थियो । उक्त आइसोलसनमा १४ जना संक्रमितलाई राखेकोमा सबै जना निको भएर घर फर्किएपछि अहिले खाली रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले जानकारी दिए ।
त्यस्तै दाङमा मात्रै २ सय ६१ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये ८७ जना निको भइसकेका छन् भने अझै १ सय ७४ जनाको उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल प्रसन कमल चन्दले जिल्लामा २ सय ६१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिंदै निको हुनेको पूर्ण विवरण आइतबार साँझसम्म आउने बताए । उनका अनुसार दाङमा स्वाब परिक्षण गरिएको मध्ये ४ हजार ३ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
दाङको कुन कुन ठाउँमा छन् आइसोलेन ?
पछिल्लो समय दाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पालिका स्तरमा पनि आइसोलेसन सेन्टर स्थापना गरिएको छ । पहिले बेलझुण्डीमा मात्र एक सय बेडको आइसोलेन निर्माण गरिएको भए पनि अहिले भने अन्य ठाउँमा पनि निर्माण गरिएको छ ।
राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका, बंगलाचुली गाउँपालिकामा पनि आइसोलेसन सेन्टर बनाइएको छ । त्यस्तै घोराही उपमहानगरको नारायणपुरमा, पद्मोदय स्कुलमा,
राजपुर गाउँपालिकामा पनि आइसोलसन निर्माण गरिएको छ ।