मेरो आग्रहलाई बुद्धिजीवीले मजाकमा उडाए : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे।
विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीले भने, “मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए। म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔं। आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन्। यिनीहरुलाई अगाडि बढाऔं।”
नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढको बताए। प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए।
“व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ”, प्रधानमन्त्री ओलीले भने, “मानव जातिको सर्वोपरी आकांक्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौं। मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौं। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पमा छौं ।”
उनले आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले योग र आयुर्वेदलाई अगाडि बढाउन आग्रह गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको लोकार्पण गरे।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गरे। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले विमोचित पुस्तक राष्ट्रिय योग अभ्यासक्रमको प्रकाशनले योगलाई जस्वनपद्धतिमा ढाल्न सहयोग पुग्ने बताए।
शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले राष्ट्रियस्तरमा योगको प्रयोगका सम्बन्धमा सरलीकृत व्याख्या गरेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए। स्वामी आनन्द अरुणले कोरोना संकटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले मानसिक स्वास्थ्यतर्फ केन्द्रित हुनुपर्ने बताए। र्काक्रममा योगगुरु डा. हरिप्रसाद पोखरेल, नायक निखिल उप्रेती, साधक सोनाम साथीलगायतले योगको व्यापकताका लागि आग्रह गरे।