नागरिकतामा सात वर्षे प्रावधान कांग्रेसले नमान्ने

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात बर्षपछिअंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान नमान्ने निर्णय गरेको हाे । 

 संसदको राज्य व्यवस्था तथा सुशासन समितिले उक्त प्रावधानसहितको विधेयक प्रस्तुत गरेमा फरकमत राखेर असहमति जनाउने निर्णय लिएको छ । बैठकपछि उपसभापति विमलेन्द्र निधिले भने, सत्तारूढ नेकपाले निर्णय गरेजस्तो सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने विषय कांग्रेसलाई मान्य छैन।

समितिको बैठक आजै अपराह्न बस्ने भएको छ । विधेयक एक वर्षदेखि समितिमा रोकिएको थियो । कांग्रेस नेताहरुले दिइसकेको अधिकारबाट नागरिकलाई बञ्चित गर्दा सामाजमा द्वन्द्व बढ्ने बताएका छन् ।

राष्ट्रिय सहमतिका आधारमा अन्तरिम संविधान जारी भएको र त्यसकै आधारमा नागरिकता ऐन २०६३ आएको भन्दै कांग्रेसले द्वन्द्व बढाउने काम नगर्न सत्तारुढ दललाई आग्रह समेत गरेको छ ।

नेकपा सचिवालयको शनिबारको बैठकले समितिले प्रस्ताव गरेअनुसारकै विधेयकलाई अघि बढाउने निर्णय लिएको थियो । अर्को विपक्षी दल जनता समाजवादीले पनि उक्त विधेयकको विरोध गर्दै आएको छ ।