थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतकको संख्या २३
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा गुल्मीका पुरुष रहेका छन् । करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका र बिहीबार राति मृत्यु भएका छत्रकोट गाउँपालिका वडा नम्बर ५ मैनडाँडा निवासी ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।
मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । प्यारालाइसिसको समस्यासमेत देखिएको उनलाई क्वारेन्टिनमा बस्न नसक्ने भएपछि होम क्वारेन्टिनमा राखिएको थियो ।
उनको घरमै मृत्यु भएको र शव व्यवस्थापन भइसकेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।