तनाबमा डोल्पाको ठूलिभेरी नगरपालिका, यस्तो रहेछ कारण
डोल्पा, नगरसभा नजिकै गर्दा डोल्पाको ठुलिभेरी नगरपालिकामा तनाब बढेको छ । वडा नम्बर ६ का १ सय ५० जना युवाहरुले ठूलिभेरी नगरपालिकाको कार्यालय आफ्नो माग पूरा गराउन अनिश्चितकालिन तालाबन्दी गरेसंगै तनाब बढेको हो ।
नगरप्रमुख गणेश बहादुर शाहीलाई तीन दिनअघि ज्ञापनपत्र बुझाउँदा पनि मागको सुनुवाई नभएको भन्दै ताला लगाइएकोआन्दोलनरत युवाहरुले बताएका छन ।
ठूलिभेरी नगरपालिकाको वडा नम्बर ६ का पाँचैजना जनप्रतिनिधिले प्रथम वडापालिकाको बैठक र पटकपटकको बैठकमा बहुमत जनसमुदायको उपस्थितिमा वडाको सम्पूर्ण भौतिक संरचनाहरु स्यारुपाटी भन्ने स्थानमा बनाउने निर्णय भएको थियो ।
त्यो निर्णयलाई बेवास्ता गरी जालझेल र षडयन्त्र रचेर कोठे समिति मार्फत वडाध्यक्ष धर्मलाल बुढाको एकल निर्णयले स्वास्थ्य भवन थरगाउँ गाउँमा राखेको आन्दोलनका नेतृत्वकर्ता जनक कार्कीले बताए ।
यो बाहेक आर्थिक अपारदर्शिता, कोठे समिति गठन, एकलौटी साशन, जनमतको बर्खिलाप, वडा खल्तिमा राखेर हिड्ने गरेको गम्भीर आरोप वडाध्यक्षमाथि लागाइएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी रहने युवा समाजसेवी असिम रोकायाको भनाइ छ ।