अंगीकृत नागरिकताका लागि ७ वर्षको प्रस्ताव बहुमतले पारित
काठमाडौँ, वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकले नेपाली पुरूष नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई विदेशको नागरिकता त्याग गरेको प्रमाण पेश गरेको सात वर्षपछि नेपाली नागरिकता दिने निर्णय गरेको थियो । नागरिकता नपाउँदासम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न ‘स्थायी आवासीय अनुमति पत्र’ दिइनेछ ।
उक्त प्रस्तावसहितको विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सासंदहरुले भने विरोध जनाएका छन् । उनीहरुले संविधानको मर्म विपरीत भएको बताएका छन् ।