बर्षातले क्वारेन्टाइन रहेको बिद्यालयको पर्खाल भत्कियो
देउखुरी, अबिरल वर्षा पछि आएकाे बाढीले देउखुरीकाे गढवा गाउँपालिका वडा नंं ५ स्थित क्वारेन्टाइन रहेकाे माध्यामिक बिद्यालय चैनपुरको पर्खाल भत्काएको छ । गएराती देखि निरन्तर परेकाे मुसलधारे वर्षात पछि भालु दोन्द्रे खोलामा आएकाे बाढीले विद्यालयकाे पर्खाल भत्काएकाे हाे ।
शनिबार बिहान करिब ५ बजे तिर खोलाले पश्चिम तर्फको पर्खाल भत्काएको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा विपत ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । क्वारेन्टाइन रहेकाे उक्त विद्यालयमा अहिले चार जना महिला र उन्निस पुरूष जना गरी तेईस जना बस्दै आएका छन् ।
एक्कासी खोला बिद्यालय परिसरमा पस्दा आफुहरु अताल्लिएको क्वारेन्टाइनमा बसेकाहरुले बताएका थिए । बितेको आर्थिक वर्षमा वडा नम्बर ५ को कार्यालय बाट ६ लाखको बजेट बाट बिद्यालयको पर्खाल निर्माण भएको थियो । त्यस्तै सोही बिद्यालयको उतर तर्फको पर्खालमा समेत खोलाले क्षति पुर्याएको छ ।
अविरल परेको पानीका कारण खोलामा बाढी आएको थियो । खोलामा आएको बाढी बिद्यालय भित्र समेत पसेको थियो । खोलाको बेग अत्याधिक भएकै कारण बिद्यालयको पर्खाल भत्किएको वडाध्यक्ष भण्डारीले बताए । उता गढवादेखि राजपुर जोड्ने मानपुर खोलामा आएको बाढीले खोलामा लगाएको तटबन्ध बगाईदिदा आवतजावत अबरुद्ध भएको छ ।
लगातार परेको पानीका कारण चुरे पहाड बाट झरेका खहरे खोला र राप्ती नदीले देउखुरीबासीलाई त्रसित बनाएको छ । गढवा गाउँपालिका क्षेत्रमा कहाँ कति क्षति भएको छ भनेर वडाध्यक्ष प्रकाश भण्डारी, नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखा सदस्य मोहन पाण्डे, तथा इन्कोर कार्यक्रमका सामाजिक परिचालन अधिकृत देबि प्याकुरेल लगायतले अनुगमन गर्दै स्थानीयलाई सतर्क रहन आग्रह समेत गरेका छन् ।