अविरल वर्षाले देउखुरी क्षेत्र जलमग्न, सर्तकता अपनाउन आग्रह
देउखुरी, गए राति देखि निरन्तर परेकाे मुसलधारे बर्षातले दाङ देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छन् । वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न हुनुका साथै पूर्व पश्चिम राजमार्ग आसपासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् ।
स्थानीय खोलामा बाढी आउँदा लमही गढवा यातायात सेवा प्रभावित भएको थियाे भने अहिले राप्ती नदीकाे बाहब घटे संगै यातायात सुचारू भएका छन् । लमही गढवा सडक खण्ड स्थित बोदीपुर खोलामा बाढी आएका कारण गाडी केही बेर गाडी अबरूध भएका थिए ।
बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नम्बर २ केरुनीया निवासी सुनिता चौधरीले बताइन् । ‘घरहरुमा पानी पसेको छ । घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको छ, चाैधरीले भनिन् । देउखुरीमा बाढीको कारण राप्ती गाउँपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका विभिन्न क्षेत्रहरु जलमग्न रहेको छ ।
लगातार वर्षाको कारण राप्ती गाउँपालिकाकाे लठ्ठहवा, पहरूवा, कालापानी, लालमटिया र पुरानाे भालुवाङ तथा लमही नगरपालिकाको गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवा पुरै जलमग्न भएको छ ।
खेतमा रहेको धानको विउ लगातार आएको वर्षाका कारण बाढिले बगाएको छ । यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, लमही नगररपालिका नगर प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराज यादव र राजपुर गाउँपालिकाका अध्यक्ष लाेकराज केसीले गाउँपालिका तथा नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।