विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेपाली पुरुषसँग बिवाह गरेकी विदेशी महिलाले नेपालको अंगिकृत नागरिकता प्राप्त गर्न आफु जन्मेको देशको नागरिकता त्यागेको प्रक्रियाको प्रमाणपत्र पेश गर्नुपर्ने श्रेष्ठले जानकारी दिए।

बैठक सकिएपछि निर्णय सुनाउँदै श्रेष्ठले भने, ‘नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता दिने निर्णय गरिएको छ ।’

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अलपत्र रहेको छ । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनाउँदै आएको छ ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुसँग सहमति गर्ने बताएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पाँच दिन समय मागेका थिए । त्यसपछि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । शुक्रबार राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल गरेपछि सचिवालयको बैठक बोलाइएको थियो ।