भारतलाई बिप्लवको चेतावनी गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगरोस्

काठमाडौं, प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् ।उनले गोर्खा भर्ती खारेजीको माग समेत गरेका छन् । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै विप्लवले नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न आग्रह गर्दै भारतीय सेनामा भर्ती भएर भाडाको लडाकू नबन्न पनि अपील गरेका छन् ।

विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि लड्न पठाउने चलन २१ औँ शताब्दीमा कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एमव् लज्जास्पद विषय हो । यही कारणले नेपाली जनताले लामो समयदेखि गोर्खा भर्ती खारेजीको माग गर्दै आएका छन् ।’

हालै भारत र चीनबिच गलवान उपत्यकामा भिडन्त हुँदा २० भारतीय सैनिक मारिएपछि गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरुलाई बिदा कटाएर फिर्ता बोलाएको छ । विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘गोर्खा रेजिमेन्टलाई सिमानामा पठाउने तयारी देखिन्छ तर दुई देशका बिचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिनृे, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित र स्वीकार्य छैन ।’

नेपाली युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गरी गोर्खा भर्ती रोक्नु पर्ने माग नेकपा महासचिव विप्लवले गरेका छन् । उनले नेपाली युवाहरुका लागि स्वदेशमै रोजगारीका अवसर श्रृजना गर्न सरकारसँग माग गरेका छन् । विप्लवले भाडाका लडाकु नबन्न पनि युवाहरुलाई विशेष अपिल गरेका छन् ।