सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त ?
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको विषयलाई लिएर चर्को बहस शुरु भएको छ ।
मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरू विरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ । सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले व्याख्या गर्न थालेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावाद जस्ता कुराहरुले जरा गाड्दै गइरहेकोछ । मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारलाई काम पाउनै मुस्किल छ भन्ने कुराहरु आइरहेका छन् ।
पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको विभेद, गुटबन्दी, परिवारवाद तथा नातावाद ९नेपोटिजमको० विषयमा खुलेर आवाज उठाउन थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले त आफू समेत यसबाट पीडित भएको खुलासा गरेकी छन् । पक्कै पनि नातावाद, कृपावाद, बहिस्करण, सिण्डिकेट, अपमान, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ ।
जसले मनोसामाजिक समस्या तथा मानसिक रोग निम्त्याउन सक्छ । फिल्म जस्तो आफ्नो कला र सृजना देखाउने क्षेत्रमा यस्तो व्यवहारले यस क्षेत्रको विकासमा नै असर पुर्याउने गर्छ । यसलाई कदापि राम्रो मान्न सकिँदैन । तर बलिउड तथा कलिउडमा यसले लामो समयदेखि जरा गाडेको देखिन्छ ।
प्रायः जसो सबै क्षेत्रमा सिन्डिकेट देखिन्छ । फिल्म क्षेत्रमा त झन आफ्नो वर्चश्व कायम राख्न अनेकन तिकडम हुने गर्छन् । यस क्षेत्रमा लागेका घरनाका आफन्तले मात्र अवसर पाएको, प्रतिभा हुँदाहुँदै पनि अरु पछि पर्नु परेको ज्वलन्त उदाहरणहरु प्रशस्त छन् ।
अवसर नपाए पछि आफैं लगानी गरेर कलाकार भएका पनि धेरै भेटिन्छन् । यति हुँदाहुँदै पनि फिल्म उद्योग विशुद्घ कलाकारिता क्षेत्र मात्र नभएर एक किसिमले व्यवसाय पनि हो । फिल्म बनाउनेले नाफा-घाटाको हिसाबकिताब गर्छ । निश्चित रूपमा उसका केही स्वार्थ पनि हुने गर्दछन् । जसले गर्दा लगानीकर्तालाई सजिलोसँग औँला उठाउन पनि सकिरहेको हुँदैन । यस कारण क्षमता भएकाहरु पनि निरीह हुन बाध्य देखिन्छन् ।
आत्महत्याको कारण खोज्ने हो, भने यसको प्रमुख कारण मानसिक रोगलाई लिने गरिन्छ । त्यसमा पनि डिप्रेसन एक नम्बरमा पर्ने गर्छ । विभिन्न कारणले गर्दा मानसिक समस्यमा परेपछि वेलैमा सहि उपचार हुन नसक्दा आत्महत्या जस्तो दुस्खद घटना घटन सक्छ ।
तर आत्महत्याको पछाडिको कारणलाई बेवास्ता गर्दै फरक व्याख्याले समाजमा आत्महत्याप्रतिको बुझाई र धारणा गलत बन्न जान्छ । फिल्म नपाउँदैमा, ऋण लाग्दैमा, प्रेममा असफल हुँदैमा वा अन्य एउटै मात्र कारणले कसैले आत्महत्या गर्दैन । यसका पछाडि धेरै कारक तत्वले प्रभाव पारेको हुन्छ । आत्महत्याको हिसाबले केही व्यक्ति बढी जोखिममा परेका हुन्छन् । उनीहरुले आत्महत्या गर्ने संभावना धेरै हुन्छ ।
पेशाको हिसाबले पनि व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन्छ । तनावपूर्ण पेसा अँगाल्ने व्यक्तिमा अरु पेसामा भन्दा आत्महत्याको जोखिम बढी हुन्छ । फिल्म वा कलाकारिता पेसा पनि तनावपूर्ण पेसा हो । यो पेसामा स्थापित हुन धेरै संघर्ष गर्नुपर्छ ।
दर्शकले सधैं नरुचाउन पनि सक्छन् । सधैं भरी एउटै उचाई नहुन सक्छ । दर्शकको आलोचना खप्नु पर्ने हुनसक्छ । दर्शकको एकअर्का कलाकारबीच तुलना गर्ने स्वभाव हुन्छ । धेरै कलाकारलाई दर्शकको यो व्यवहार मननपर्न सक्छ । कलाकारहरु स्वभावतस् महत्वाकाङ्क्षी पनि हुन्छन् । दर्शकलाई रिझाई राख्न देखावटी गर्नु, आफूलाई चर्चामा राखी राख्न विभिन्न हत्कण्डा देखाउनु उनीहरुको बाध्यता हुनसक्छ ।
घरपरिवारलाई समय दिन नसक्दा परिवारिक बेमेल र खटपटले सताउन सक्छ । यी र यस्ता कारणले कलाकारमा मानसिक तनावले सताउने जोखिम बढी हुन्छ । जसले मानसिक समस्यामा पार्न सक्छ । आत्महत्या जस्तो समाजको अहिलेको जटिल सामाजिक समस्यालाई संकिर्ण रुपले हेर्न र व्याख्या गर्नु हुँदैन । आत्महत्या मानसिक रोगको एउटा परिणामको रुपमा बुझ्नु उतम हुन्छ ।
बलिउड अभिनेताको आत्महत्याको कुरा गर्दा उनी विगत ६ महिनादेखि डिप्रेसनमा थिए भन्ने कुरा बाहिर आएको छ । तर पारिवारले यो हत्या हुनसक्ने आशंका गरिरहेका छन् । यद्यपि उनको मुत्यु झुण्डिएर भएको देखिएको छ ।
उनी के कारणले गर्दा डिप्रेसनमा थिए भन्ने कुरा फरक हो । डिप्रेसन हुनुमा धेरै कारण हुन सक्छन् । व्यक्तिको व्यक्तित्व, स्वभाव, जीवनशैली, रहनसहन आदि कुराले पनि मानसिक रोग तथा आत्महत्याको जोखिम बढाउँछ ।
उनले पनि अरु कलाकारहरुले भोग्नुपरेका साझा समस्याहरु भोग्नु पर्यो होला । उनी पनि अरु कलाकारहरु झैं महत्वाकङ्क्षी पनि थिए होलान् । बाहिर समाचारहरुमा आए अनुसार उनमा पचासौं सपनाहरु थिए, जुन पूरा हुन सकेनन् भन्ने जस्ता कुरा बाहिर आएका छन् ।
सुशान्तलाई आत्महत्या गर्ने बाध्य बनाइएको हो भन्दै सलमान खानसहित ८ जना विरुद्ध दुरुत्साहनको मुद्दा समेत दायर गरिएको छ । अदालतले यसलाई कसरी लिन्छ हेर्न बाँकी छ । कसैलाई आत्महत्या गर्न बाध्य बनाउनु एक किसिमले अपराध नै हो।
यसको साक्षीमा अभिनेत्री कंगना रनावत बसेकी छन् । कंगनाले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो ¥यांकमा आएर सुशान्तले छात्रवृत्ति पाएका थिए । त्यत्रो संघर्ष गर्दै आएका उनको दिमाग कसरी कमजोर हुन सक्छ र आत्महत्या गर्न सक्छन् ?’
कंगनाको बुझाइमा कमजोर दिमाग भएको मान्छेले मात्र आत्महत्या गर्छ भन्ने देखिन्छ । तर यो बुझाइ गलत हो । डिप्रेसनमा गएपछि व्यक्तिको आफूलाई हेर्ने दृष्टिकोण, आत्मबल, निर्णय लिने क्षमता कमजोर भएर जान्छ ।
मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतनाको ठूलो आवस्यकता देखिन्छ । डिप्रेसन तथा आत्महत्याका विषयमा सत्यतथ्य जानकारी दिनसके तथा यस विषयमा बहस र छलफल अगाडि बढाउन सके यस्ता दु:खद घटनाहरुलाई कम गर्न सकिन्छ ।