नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार
चरम दक्षिणपन्थी संशोधनवादी शक्तिमा रहेको सत्तासीन नेकपा (नेकपा) ले नेपालमा पुँजीवादी राजनैतिक क्रान्ति सम्पन्न भइसकेको सिद्धान्त पारित गरेको छ । यो शक्ति अब कुनै राजनीतिक परिवर्तनको आवश्यकता नभएको र आर्थिक क्रान्ति सम्पन्न गर्दै समाजवादको स्थापना गर्नुपर्ने निष्कर्षमा पुगिसकेको छ ।
अहिलेको सन्दर्भमा यो विचार स्पष्ट रूपमा नयाँ जनवादी क्रान्तिको विरुद्धको विचार हो । विचारमा मात्रै होइन यो शक्ति व्यवहारमा समेत दलाल तथा नोकरशाही पुँजीवादलाई झन्झन् बल पुग्ने गरेर हरेक क्रियाकलाप गरिरहेको छ । यसले अब यो शक्तिको नेतृत्वको सम्पुर्ण चिन्तन र विचार प्रतिक्रियावादी रूपमा रुपान्तरण भैसकेको स्पष्ट भएको छ ।
यिनिहरु कम्युनिस्टको नाउँमा भ्रम फैलाउने, नेपाली क्रान्तिलाई विकृत तुल्याउने र मार्क्सवादलाई समाप्त पार्ने मात्रै होइन जनवादी क्रान्तिमाथि दमन गर्ने दिशातिर अगाडि बढिरहेका छन् । यो संकेत विप्लव समुहमाथिको उनीहरुको व्यबहारले समेत प्रष्ट हुन्छ । तर यथार्थमा नेपाली समाज अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा गुज्रिरहेको छ । यस्तो देशमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । यस क्रान्तिको बाटो भनेको दीर्घकालीन जनयुद्धको बाटो हो । यो हाम्रो न्युनतम कार्यक्रम हो । यद्धपि हामी यतिखेर नौलो जनवादी क्रान्तिको आधार तयार पार्न सहयोग पुग्ने गरि शान्तिपुर्ण बैधानिक संघर्षको चरणमा नै छौं । यो शान्तिपुर्ण संघर्ष नै हाम्रो अहिलेको मुख्य कार्यनीति हो । यो कार्यनीति हाम्रो न्युनतम कार्यक्रमको लक्ष प्राप्तिको लागि आधार तयार पार्ने प्रकारको हुनुपर्छ ।
वर्तमान राज्यसत्ता, व्यवस्था, गणतन्त्र र संविधानले नै जनताका सम्पुर्ण आधारभुत समस्या समाधान गर्न सक्छ भन्ने मान्यता राख्ने अवसरवादी र प्रतिक्रियावादी पक्षधरहरुले राजनीतिक क्रान्ति पुरा भयो अब आर्थिक क्रान्ति गर्नु पर्दछ भनेर ठूलो भ्रम पैदा गर्दैै आएका छन् । पहिलो त, राजनीतिक र आर्थिक क्रान्तिको सम्बन्धलाई उपरिसंरचना र आधारको सम्बन्धका रुपमा बुझ्नु पर्दछ । राजनीति र अर्थतन्त्रमा मूलतः अर्थतन्त्रको भूमिका प्रधान हुन्छ तर पनि ती दुबैले एक अर्कोलाई प्रभावित पार्ने र बदल्ने काम गर्दछन् ।
वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक तथा मुख्यतः नवऔपनिवेशिक उत्पादन सम्बन्धको आर्थिक आधार र अहिलेको लोकतान्त्रिक गणतन्त्रको उपरिसंरचना बीच एकरुपता नै देखिन्छ । यस अर्थमा राजनीतिक क्रान्ति पुरा भयो आर्थिक क्रान्ति गर्नु पर्छ भन्ने कुरामा कुनै तुक देखिन्न । दोस्रो, यहाँ राजनीति र अर्थतन्त्रको कुरा गर्दा जुन समाजवादको उल्लेख गरिएको छ त्यो शब्दको दुरुपयोग मात्र हो ।
किनभने, हिजो पनि राज्यसत्तामा सामन्त, दलाल तथा नोकरशाही पुँजीवादको प्रभुत्व थियो, आज पनि छ र भोलि पनि उनीहरुले त्यसैलाई कायम राख्न गैरहेका छन् । त्यसै गरी आर्थिक क्षेत्रमा हिजो पनि दलाल तथा नोकरशाही पुँजीवादको प्रभुत्व थियो, आज पनि छ र भोलि पनि उनीहरुले त्यसैलाई कायम राख्ने निश्चित छ । भूमण्डलीकृत साम्राज्यवाद तथा विस्तारवादको नियन्त्रण तथा निर्देशनमा उदारीकरण, निजीकरण तथा खुलाबजार अर्थतन्त्रको मान्यतालाई अंगीकार गर्नेहरुले अर्थतन्त्रमा कदापी क्रान्ति गर्न सक्दैनन् । यसरी हेर्दा उनीहरुले प्रयोग गर्ने गरेको ‘समाजवाद तथा आर्थिक क्रान्ति’ शब्द पनि भ्रम शिवाय अरु केही होइन ।
प्रतिक्रियावादीलाई छोडेर तमाम अवसरवादी तथा संशोधनवादीहरु के पनि भन्दछन् भने दलाल तथा नोकरशाही पुँजीवाद भने पनि पुँजीवाद नै हो र राष्ट्रिय पुँजीवाद वा औद्योगिक पुँजीवाद भने पनि पुँजीवाद नै हो । किन नयाँ जनवादी क्रान्तिको कार्यक्रम चाहियो भन्ने तर्क गरेर नयाँ जनवादी क्रान्तिको आवश्यकता नरहेको प्रचारप्रसार गरिरहेका छन् । त्यो तर्क पनि सर्वथा गलत छ । किनभने, पहिलो कुरा, दलाल तथा नोकरशाही पुँजीवाद र औद्योगिक पुँजीवादमा गुणात्मक तथा मौलिक अन्तर छ
। अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेका मुलुकहरुमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको नेतृत्वमा दलाल तथा नोकरशाही पुँजीवाद स्थापित रहेको हुन्छ । तर यहाँ औद्योगिक पुँजीवाद तथा समाजवादउन्मुख पुँजीवादको स्थापना भने सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी राज्यसत्ता स्थापना गरेर मात्र हुन सक्तछ । दोस्रो कुरा, दलाल तथा नोकरशाही पुँजीवाद साम्राज्यवादको अभिन्न अंग हो भने औद्योगिक पुँजीवाद तथा समाजवादउन्मुख पुँजीवाद वैज्ञानिक समाजवादको अभिन्न अंग हो । तेस्रो कुरा, दलाल तथा नोकरशाही पुँजीवादले पुरानै राज्यसत्ता तथा साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनलाई जारी राख्दछ भने औद्योगिक पुँजीवाद तथा समाजवादउन्मुख पुँजीवादले वैज्ञानिक समाजवादमा जानका लागि वस्तुगत आधारहरु तयार पार्दछ ।
२१ औं शताब्दिको डेढ दशकको आजको विश्व युग साम्राज्यवाद र र्सवहाराक्रान्तिको भीषण संर्घषको युग हो । आजको युग विज्ञान र प्रविधिले युक्त युग पनि हो । आजको युग भूमण्डलीकृत साम्राज्यवादको युग हो । यो सँगै नेपालमा दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवादको अलवा भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद सहित कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल, हस्तक्षेप एवं नवऔपनिवेशिक उत्पीडन तीव्ररुपमा बढ्दै गइरहेको छ ।
यी सबै शक्ति र तत्वहरु नेपालमा हुने नयाँ जनवादी क्रान्तिलाई ध्वस्त पार्नका लागि योजना बुनिरहेका छन् । त्यसैले यी नयाँ जनवादी क्रान्तिका दुश्मन शक्तिहरु हुन् । श्रमजीवी मजदुर वर्ग, हरुवा, चरुवा, हली गोठाला, ग्रामीण र्सवहारावर्ग, निम्न पुँजीपति वर्ग एवं राष्ट्रिय पुँजीपती वर्ग नेपाली नयाँ जनवादी क्रान्तिको प्रक्रियामा जनसमुदाय अन्तरगत पर्दछन् । मजदूर वर्ग नेपाली नयाँ जनवादी क्रान्तिको नेता हो । सुकुम्वासी, गरीव तथा निम्न मध्यम किसान नेपाली क्रान्तिका आधारभूत शक्ति हुन् । ढुलमुल चरित्र हुँदाहुँदै पनि धनि किसान तथा राष्ट्रिय पुँजीपती वर्ग नेपाली नयाँ जनवादी क्रान्तिका मित्र नै हुन् । दलाल तथा नोकरशाही पुँजीपति वर्ग, सामन्त अर्थात् जमिन्दार वर्ग, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद सितका नेपाली जनताको आधारभूत तथा प्रधान सबै खाले अन्तरविरोधहरुको समाधान नयाँ जनवादी क्रान्तिले नै गर्दछ ।
नयाँ जनवादको राज्यप्रणाली सर्वहारावर्गको नेतृत्व र आम जनसमुदायको संयुक्त अधिनायकत्वमा आधारित हुन्छ । यस प्रकारको राज्यप्रणाली सामन्तवाद र साम्राज्यवाद र विस्तारवाद विरोधी रहेको हुन्छ । यो राज्य प्रणाली सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीपति वर्ग विरुद्ध परिलक्षित रहनेछ । नयाँ जनवादको शासन प्रणाली जनवादी केन्द्रियतामा आधारित हुनेछ । यो राज्यसत्ता जनताको जनवादी अधिनायकत्व अन्तरगत नयाँ जनवादी राज्यसत्ता मजदुरवर्ग, हरुवा, चरुवा, हली, गोठाला सहित ग्रामीण र्सवहारा वर्ग, किसान वर्ग, शिल्पकार, विभिन्न तहका निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको संयुक्त राज्य सत्ता हो ।
आर्थिक पक्षको कुरा गर्दा नयाँ जनवादी क्रान्तिको आर्थिक कार्यक्रम कृषिको क्षेत्रमा सामन्ती भू-स्वामित्व तथा सामन्तवादी उत्पादन सम्बन्धको अन्त्य गरि जमिन जोत्नेको नाराका आधारमा क्रान्तिकारी भूमिसुधार गर्ने मान्यतामा आधारित रहेको छ । यसमा मध्यम तहका किसानहरुका हकहीतको सुरक्षा गरिन्छ । नयाँ जनवादले कृषि क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक कृषि क्रान्तिको पक्षपोषण गर्दछ । उद्योग र वाणिज्य सहित समस्त वित्तीय क्षेत्रमा नयाँ जनवादले दलाल तथा नोकरशाही पुँजीवादी आर्थिक प्रभुत्वको अन्त्य र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकासको मान्यता अवलम्बन गर्दछ । यस क्रान्तिले दलाल तथा नोकरशाही पुँजीको राष्ट्रियकरण गर्दछ । नयाँ जनवादले जनताका जनजीविकाका आधारभूत समस्याको समाधान गर्दछ ।
साँस्कृतिक क्षेत्रमा नेपाल अर्धसामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा बदलिए यता नेपाली संस्कृति पनि देशको यो अवस्थाबाट प्रभावित रही आएको छ । तदनुसार नेपाली संस्कृति दुइ भागमा विभाजित रहेको छ, ती हुन् प्रतिक्रियावादी संस्कृति र जनवादी संस्कृति । नेपाली प्रतिक्रियावादी संस्कृति सामन्तवादी र साम्राज्यवादी विचारहरुको मेलबाट बनेको छ ।
यो संस्कृति जनविरोधी, अराष्ट्रिय र अवैज्ञानिक रहेको छ । त्यसैगरी जनवादी संस्कृति नेपाली जनवादी परम्परा र सर्वहारा अन्तर्राष्ट्रियतावादी मान्यताको मेलबाट बनेको हुन्छ । यो संस्कृति जनवादी, राष्ट्रिय तथा वैज्ञानिक रहेको छ र यसले प्रतिक्रियावादी संस्कृतिको विरोध गर्दछ । नयाँ जनवादी क्रान्तिको कार्यक्रमले माथि उल्लेखित राजनीतिक, आर्थिक तथा साँस्कृतिक पक्षको समग्रतामा वैदेशीक सम्बन्ध, न्यायिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत गुणात्मक परिवर्तनको पक्षपोषण गर्दछ । यस क्रान्तिले वैदेशिक क्षेत्रमा भारतसितका सबैखाले असमान सन्धि तथा सम्झौताहरुको खारेज गरि नयाँ आधारमा नयाँ सम्बन्धको विकासमा जोड दिन्छ । यो जनवादी न्यायव्यवस्था, जनवादी शिक्षा प्रणाली र सामाजिक मुक्ति तथा सुरक्षाको पक्षमा रहेको छ ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी विचार र सिद्धान्त सहितको क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यकता पर्दछ । कम्युनिष्ट पार्टी मातहतका जनवर्गीय मोर्चा, संयुक्त मोर्चा लगायतका संगठनहरु हुन्छन् । तिनीहरुले क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । संयुक्त मोर्चा अन्तरगत यस प्रकारका जनवर्गीय मोर्चाका साथै विभिन्न प्रकारका देशभक्त, जनवादी तथा वामपन्थि राजनीतिक दल वा शक्तिहरु पनि सामेल हुन सक्छन् । यी सबै संगठनहरु मध्ये कम्युनिष्ट पार्टीे भूमिका प्रमुख र नेतृत्वदायी हुन्छ । आजको माथि भनिएझैं साम्राज्यवाद र र्सवहाराक्रान्तिको युग हो । आजको युगका मार्क्सवाद – लेनिनवाद – माओ विचारधाराको सिद्धान्तद्वारा पथप्रदर्शित क्रान्तिकारी कम्युनिष्ट पार्टीलेमात्र अहिलेको नयाँ प्रविधिको प्रयोग सहित क्रान्तिको नेतृत्व गर्न सक्छ ।
माओत्सेतुङ्गले नयाँ जनवादी क्रान्तिको प्रक्रियामा कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र जनमुक्ति सेना जस्ता संगठनहरुलाई तीन जादुगरि हतियारको रुपमा प्रस्तुत गर्नुभएको थियो । यो कुरा नेपाली नयाँ जनवादी क्रान्तिका सर्न्दर्भमा पनि सत्य हो । यहाँनेर बुझ्नै पर्ने कुरा के हो भने कम्युनिष्ट पार्टी र्सवहारा वर्गको राजनीतिक संगठन हो । नेपालमा नयाँ जनवादी क्रान्तिका लागि कम्युनिष्ट पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्दछ ।
नेपालमा अहिले दर्जनभन्दा बढी कम्युनिष्ट पार्टी नाममा धेरै संगठनहरु बनेका छन् तर ती सबै सच्चा कम्युनिष्ट पार्टी होइनन् । अहिलेको स्थितिमा नेपालको क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुप नेकपा (मसाल) नै हो । तर प्रतिगमन विरुद्धको आन्दोलन राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पश्चात् दु:खद कुरा यो पार्टी पनि क्रमश संसदीय प्रतिक्रियावादी सत्तामोह, दक्षिणपन्थी राजनीतिक कार्यनीति र व्यक्तिवादी चिन्तन प्रवृत्तिको शिकार हुने दिशामा अगाडि बढिरहेको छ ।
त्यस पार्टी भित्र पार्टीको क्रान्तिकारी राजनीतिक लाइन बचाउन ठुलो अन्तरसंघर्ष चलिरहेको छ । व्यक्ति प्रमुख कुरा होइन, क्रान्तिकारी पार्टी निर्माण प्रमुख कुरा भएकोले जस्तोसुकै कठिन परिस्थिति सहेर पनि यो अन्तरसंघर्षमा क्रान्तिकारी पक्ष सफल रहने आशा गरिएको छ । पार्टीलाई संसोधनवादी घारमा पतन गराउन चाहनेहरुले उक्त अन्तरविरोध तथा संघर्ष पार्टी फुटाउने मनासयले भैरहेको र नेकपा ( मसाल ) फुटको संघारमा रहेको हल्लाखल्ला गरिरहेका छन् तर अहिलेको अन्तरसंघर्ष पार्टी फुटाउने मनासयले होइन कि पार्टीको क्रान्तिकारी विचारको सुरक्षा र पार्टीको न्युनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति मुखरित कार्यनीति निर्माणको आन्तरिक लडाइँको कार्यभार अवधिमा गुज्रिएको छ ।
अहिले एकातिर पार्टी भित्रको अन्तरासंघर्षमा क्रान्तिकारी राजनीतिक कार्यनीति र कार्यप्रणालीको रक्षा गर्नु र अर्कोतिर यस संघर्षका दौरानमा पार्टीका तितरबितर पारिएका नेता कार्यकर्ता, सडकमा फालिएका प्रकाशन र तिलान्जली दिइएका क्रान्तिकारी कार्यनीतिको संरक्षण, जतन र सम्बर्द्धन गरेर पार्टी विसर्जन हुनबाट जोगाउनु हामीहरुको मुख्य कार्यभार हुन आएको छ । हामीले पुर्णतया आशा गरेका छौं कि चाहे संघर्ष जतिसुकै लामो किन नहोस् कोहि पनि नेता तथा कार्यकर्ता आत्तिने, हतोत्साहित हुने, निराश हुने र पलायन हुने छैनन् ।
नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण दुइलाइन संघर्षका बीचबाट एकता र संघर्ष मुख्यतः रुपान्तरणको प्रक्रियाबाट नै हुन्छ । लामो समयदेखि यथा विश्लेषणको आधारमा पार्टी क्रान्तिकारी दिशामा रुपान्तरण हुन सक्दैन । समय र परिस्थिति अनुरुप विषयवस्तुलाई गतिशीलतामा विश्लेषण गर्नु जरुरी छ । यदि यही प्रक्रियामा पार्टी क्रान्तिकारी दिशामा मुखरित हुनै सकेन वा झन्झन् अवसरवादी र संशोधनवादी दलदलमा जाकिदै गएको खण्डमा भने सचेत क्रान्तिकारी पक्षका भित्र र बाहिर रहेका सम्पुर्ण नेता कार्यकर्ता पार्टी नेतृत्वको हिजोको विरासतको दौराको फेर समातेर त्यससँगै सति जान सकिदैन । हामी आशा र कामना गरौं त्यो दिन आउने छैन । यो कुरामा पार्टीको केन्द्रिय समिति नै गम्भीर रहनुपर्ने आवश्यकता छ ।
कम्युनिस्ट आन्दोलनमा नीति, सिद्धान्त, विचार र क्रान्तिकारी पार्टी निर्माण मुख्य कुरा हो र पद, प्रतिष्ठा र व्यक्तिगत महत्वकांक्षा गौण कुरा हुन् । हाम्रो न्युनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति भएकोले अहिलेको कार्यनीति त्यो क्रान्तिको कार्यभारको पुर्वाधार तयारी गर्ने प्रकारको कार्यनीति हुन आवश्यक छ । त्यो कार्यनीति तत्काल समाज र यो राज्यव्यवस्थामा भएका तमाम विकृति विसंगति विरुद्धको शान्तिपुर्ण तरिकाले तर हस्तक्षेपकारी संघर्षको कार्यनीति हुनुपर्छ । सत्तामुखी, वक्तव्यमुखी र खैराती मास्टरको चाल जस्तो कार्यनीतिले क्रान्तिकारी कार्यनीतिको प्रतिनिधित्व गर्न सक्दैन । पुरानो प्रकारका आरोपप्रत्यारोप त्यागौं, कार्यनीति सुधार गरौं, एकताका साथ अघि बढौं । यो नै इतिहासकै सबैभन्दा उत्तम कदम सावित हुनेछ ।