राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संक्रमण

दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएकाे छ । चार जना चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि  भएपछि दुई दिन सेवा बन्द हुने भएको हाे ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएसंँगै अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिने भएको छ ।

त्यसका लागि अस्पताल परिसर बन्द गर्नुपर्ने भएकाले शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको उनले बताए।

अस्पतालले सेवा नदिने भएपछि उपचारका लागि प्रतिष्ठानमा आएका बिरामीलाई अन्य अस्पतालमा सिफारिश गरिने जनाइएको छ । बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अन्य अस्पताललाई अनुरोधसमेत गरिएको छ ।

सङ्क्रमित चिकित्सकको सामान्यावस्था छ । अहिले प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण पनि भइरहेकाले यो सेवा भने नियमित चल्नेछ ।