बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार प्रहरीविरुद्ध २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो कायम गरी राजश्व चुहावट गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप पत्र दायर गरिएको हो ।

उनीहरुले २०७६ पुष ११ गते अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी मिलेर बाँडफाँड गरेको अख्तियारको आरोप छ । टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले ना ६ ख ४९३२ नम्वरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन कब्जा गरेको जानकारी पाएर पनि उनलाई आवश्यक कारवाही गर्नुपर्नेमा बिदामा छोडेको अख्तियारले जनाएको छ ।

उनी बिदामा गएपछि पनि पटक पटक निरीक्षकसँग सम्पर्क भएको र नेपालले सुन मिलोमतो गरेको स्पष्ट भएको अख्तियारको ठहर छ । निरीक्षक नेपाललाई ४२२ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो २६ लाख ५२ हजार ५९ रुपैयाँको दोब्बर जरिवाना असुल उपर गर्न अख्तियारले माग गरेको छ ।

पुरुषोत्तम खत्रीको सूचनाको आधारमा केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउँदै गरेको ना ६ ख ४९३२ नम्वरको कन्टेनर कार्यालयभित्र ल्याई गाडीमा सवार व्यक्तिबाट ४२२ ग्राम सुन कब्जामा लिएर कानूनी कारवाही अगाडि नबढाएको पुष्टि हुन आएको भन्दै उनलाई पनि उति नै सजाय माग गरिएको छ ।

अर्का हवल्दार रामकाजी लामाले कहीं कतै रिपोर्ट समेत नगरी उक्त सुन लुकाउनमा मद्दत गरेको अख्तियारको आरोप छ । हवल्दार पुरुषोत्तम खत्रीले रामशरण रिमालले सुन लुकाएको थाहा पाएको र जानकारी नदिएकाले उनलाई पनि उति नै सजायको माग गरिएको छ ।

अख्तियारले उक्त आरोप पत्र शुक्रबार विशेष अदालत, काठमाडौंमा दायर गरेको हो । उनीहरु चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय गरी बिगोको दोब्बर जरिवाना गर्न माग दाबी गरिएको छ । उनीहरुविरुद्ध ४ देखि ६ वर्षसम्मको कैद सजायको माग गरिएको छ ।