नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण

काठमाडौं, चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न संयुक्त प्रशिक्षण हुँदैछ । भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर हुने यो संयुक्त प्रशिक्षण पार्टी र देश सञ्‍चालनको अनुभव आदानप्रदान गरिने बताइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो। वेबनार एप जुममार्फत अन्तक्र्रियामा जोडिने नेकपा स्कुल विभागले जानकारी दिएको छ । अन्तक्र्रियामा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा गरी करिब सयजना सहभागी रहने बताइएको छ ।

दिउँसो १ः३० बजे हुने अन्तर्क्रियामा चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बती विकासको मोडालिटीबारे प्रशिक्षित गर्ने नेकपा स्कुल विभागका एक सदस्यले जानकारी दिए । उनका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल मुख्यवक्ता रहेको वेबनारमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख सोङ थाओले प्रशिक्षण दिने कार्यक्रमको स्वरूप तयार भएको छ ।

“चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग आयोजक छ भने नेकपा स्कुल विभाग सह–आयोजक छ ।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूलाई सुशासन, पार्टीको अनुशासन, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने छन्। 

विश्वव्यापी समस्या बनेको कोरोना कहर र सीमा समस्याबारे पनि अन्तक्र्रिया नहुने नेकपाले जनाएको छ । बरु संगठन निर्माण र परिचालनको विषय छलफलमा उठ्नेछ ।

अन्तरक्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत अधिकांश नेताहरू सहभागी हुनेछन्।

यसअघि गत वर्ष असोजमा, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो।

लोकतान्त्रिक मुलुकको सत्तारुढ दलले एक दलीय शासन व्यवस्था भएको देशको राजनीतिक दलको विचारधाराबारे प्रशिक्षण लिएको भन्दै उक्त गोष्ठीको नेपालमा आलोचना भएको थियो ।

गत वर्ष नै सीपीसी र नेकपा बीच एकअर्का पार्टीको अनुभव आदान–प्रदान गर्ने लगायत ६ बुँदे सहमति भएको थियो।

आजको अन्तर्क्रियामा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट २०–३० जना सहभागी हुनेछन् । नेकपाका तर्फबाट ६०–७० जना सहभागी हुने बताइएकाे छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको ९९ वर्ष र जनवादी गणतन्त्र स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भमा शुभकामना आदान–प्रदान हुनेछ  ।