चीनसँगको सीमा विवादबारे सर्वदलीय छलफल गर्दै मोदी

एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न आज (शुक्रबार) भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ । बैठकमा भारतका १७ प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने जनाइएको छ ।

भारत र चीनबीचको लद्दाखस्थित ग्वालन उपत्यकामा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको थियो । झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । ८५ भन्दा बढी भारतीय सैनिक गम्भिर रुपमा घाइते भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ ।

बिहीबार भारतमा चीनविरोधी चर्का नाराबाजी समेत गरिएको थियो । सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गरेका थिए । साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालै मात्र आह्वान गरेका थिए ।

को–को सहभागी हुँदैछन् बैठकमा ?

नरेन्द्र मोदी र मन्त्रीहरुको टिमसंगै सोनिया गान्धी, एमके स्टालिन, एन.चन्दबाबू नायडू, जगन रेड्डी, शरद पवार, नितिश कुमार, डी. राजा, सीताराम येचुरी, नवीन पटनायक, के.चन्द्रशेखर, ममता बनर्जी, सुखबीर बादल, चिराग पासवान, उद्धव ठाकरे, अखिलेश यादव, हेमन्त सोरेन र मायावती ।